लेखक हीरा लामाको उपन्यास ‘दलदल’ सार्वजनिक भएको छ ।

अक्षर समूह चितवनको आयोजनामा नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।

कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए । `चितवनका स्रस्टाले लेखेको यो पहिलो उपन्यास हो, जसमा चितवनलाई, चितवन प्रसिद्ध भूगोललाई लेखकले सकेसम्म उपन्यासको कथामा समेट्नुभएको छ´, अविरलले भने – `भरतपुर कारागारमा कैदीलाई मारिएको घटना यहाँको महत्त्वपूर्ण घटना हो, उपन्यासमा यो घटनालाई प्राथमिकता का साथ प्रस्तुत गरिएको छ ।´ दलदलमा चितवनको अँध्यारो उज्यालो सबै कुरा छ, दलदल युवा आख्यानकारको तन्नेरी कथा भएको पनि अविरलले बताए ।

पुस्तकका बारेमा बोल्दै धनराज गिरीले लेखक लामाले उपन्यासमा बुबाको भूमिकालाई महत्त्वका साथ उतारेको बताए । अर्का टिप्पणीकार निर्दोष जीवनले दलदल पारिवारिक सामाजिक कथाबस्तुको उपन्यास भएको बताए ।

लेखक हिरा लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए । `दलदलमा कुनै रिफ्रेन्स राखिएको छैन, यो पुस्तक पढ्नलाई अरू किताबको खाँचो पनि पर्दैन, पारिवारिक कथामा यो उपन्यासलाई सजाउने कोसिस गरेको छु´, लेखक लामाले बताए । कार्यक्रमका प्रमुख अतिथि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलका कथाहरू पनि उपन्यासमा बुनिएको भूपिनले बताए । दलदल समग्र समाजको प्रतिबिम्ब बनेर आएको पनि उनले बताए ।

दलदल लेखक लामाको पहिलो पुस्तक हो । पेशाले शिक्षक रहेका लेखक लामा समसामयिक लेखनमा रुचि राख्छन् । इन्डिगो इन्क काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९/- रुपैयाँ छ ।