गत महिनादेखि सुरू भएको नेपालको पहिलो कविता रियालिटी सो ‘द पोएट आइडल’ अहिले नवौं एपिसोडमा पुगेको छ । यस समयबीचमा धेरै प्रतिस्पर्धीहरूले आफ्नो कला र गलाको साथमा दमदार प्रस्तुति दिइसकेका छन् । प्रस्तुतिको क्रममा कोही बाहिरिएका छन् भने कोहीले आफूलाई भोटिङ राउन्डसम्म पुर्याउन सफल भएका छन् ।
नायिका दिया मास्केको उपस्थितिमा सरस्ती पूजाको दिन, बिहीबार राति ८:३० बजेबाट एपोसोड नौ सुरु भएको थियो । दियाले कवि भूपीको ‘साँघुरो गल्लीमा चोक छ’ नामक कविता वाचन गरेपछि कार्यक्रम अघि बढेको थियो । त्यस्तै, कवि छविना लुङ्गेली मगर, पिन्की बोहोरा र नीलम गुरुङले कवि भूपीको कविता ‘मैनबत्तीको शिखा’ समूहिक वाचन गरेका थिए ।
‘विप्लव दाइ यहाँले कवि भूपीलाई कसरी सम्झनुहुन्छ ?’, कार्यक्रम अघि बढेपछि उद्घोषक दिवव्यदेव सोध्छन् ।
‘जब घुम्ने मेचमाथि अन्धो मान्छे प्रकाशन भयो, तब कविताको माहोल नै डाइनामाइक भयो । त्योबेला भूपी दाइ प्रज्ञामा कार्यरत हुनुहुन्थ्यो । केही काम विशेषले भूपी दाइ तीनचार दिन प्रज्ञामा आउनुभएको थिएन । उहाँ प्रज्ञामा नभएपछि हरिभक्त कटुवाल दाइलाई निकै नै छटपटी चलेछ । भूपीको अभावमा उहाँ निकै न्यास्रो मानेर बस्नुभएको थियो । तर एकदिन कमलादीको गणेश मन्दिरनेर भूपी दाइ ट्याक्सीबाट टुप्लुक्क झर्नु भयो । उहाँ झर्नेबित्तिकै ‘भूपी…’ भन्दै हरिभक्त दाइ दौडिएर उहाँलाई अँगालो मार्नुभयो ।’, विप्लव सर्वप्रिय कवि भूपीलाई यसरी सम्झन्छन् ।
त्यसैगरी अन्य निर्णायकहरू पनि आ-आफ्नै तरिकाले भूपीलाइ सम्झन्छन् । अनुप बराल भन्छन्, ‘४३ सालमा पोख्रेली युवा समाजले पोखरामा साहित्यकि कार्यक्रम राखेको थियो । त्यहाँ भूपीले कविता वाचन गर्ने कार्यक्रम रहेको थियो । कविता वाचन गर्नुअघि उहाँले भन्नुभएको थियो – ‘म तपाईँहरूको सहरमा आएको छु । मलाई तपाईँहरूमाझ उभिन पाउँदा धेरै खुसी लागेको छ ।’ उहाँ आम पाठकहरूलाई आकर्षण गर्न र पाठकहरूसँग सुमधुर सम्बन्ध राख्न बडो माहिर हुनुहुन्थ्यो । सरूभक्तले पनि उहाँको बारेमा एउटा समीक्षा लेख्नुभएको थियो । त्यस समीक्षा पढेपछि झन् मैले उहाँलाई मन पराउन थालेँ ।’
त्यस्तै, सुरक्षा पन्त भन्छिन्, ‘समय समयमा बुद्धहरू जन्मने गरेका छन् । कोहीले धार्मीक कार्य गरेर त केहीले कवितालगायत दमदार रचनाहरू दिएर समाज र राष्ट्रमा आआफ्नो चेतना फैलाएका छन् । भूपी मलाई अत्याधिक मन पर्ने कवि हुन् । उनको कवितासंग्रह किन्न दौडिएको मलाई अझै पनि याद छ । म उहाँको कविता धेरै नै पढ्ने गर्छु । कवि एउटा राष्ट्रको मात्र नभएर, उसले देशभक्तिको मात्र कविता नलेखेर, सिङ्गो ब्राह्माण्डको कविता लेख्ने गर्छ । कवि एक राष्ट्र र समाजको मात्र नभएर पूरै युनिभर्सको हो । अझ भूपीको त कुरै नगरौँ । उहाँको कविता पायौँ, तसर्थ हामी धेरै भाग्यमानी हौँ । ‘
[embedyt] https://www.youtube.com/watch?v=1dIX2VvxJMw[/embedyt]
र, अन्त्यमा हँसमुख कवि उपेन्द्र सुब्बा भन्छन्, ‘वैरागी काइला, ईश्वरवल्लभ, मोहन कोइरालाजस्ता शक्तिशाली कविहरू माझ पनि भूपी निकै माथि हुनुहुन्थ्यो । नेपाली कवितालाई उच्च स्तरमा पुर्याएका नै भूपीले हुन् । उहाँहरूकै प्रेरणाबाट मैले कविता लेख्न थालेको हुँ । साथीहरू मैले लेखेको कविता अलि सरल र भूपीको जस्तै छ भन्थे ।’
‘सो’ भूपीको कविता वाचनसँगै अघि बढ्छ र अन्तमा भोटको निर्णय आउँछ । निर्णय पनि यस्तो कि जसलाई आम स्रोताहरूले अत्याधिक मन पराएका थिए उनीहरूको नै सबैभन्दा थोरै भोट आयो । जसमा युग सर्वनाम र नीलम गुरुङ सबैभन्दा कम भोट पाउनेमध्ये परे ।
‘हामीले त तपाईँहरू वटन थ्रीमा पर्नुहुन्छ भन्ने सोचेको त के आशा पनि गरेका थिएनौँ ।’, रिजल्टपछि निर्णायकहरूले भनेका थिए ।
भोटको उक्त निर्णयपछि ‘द पोएट आइडल’ले ती दुई कविमध्ये एक कविको यात्रालाई निरन्तरता दिनको लागि भियतनाममा भएको युद्धको एउटा तस्बिर देखाएर त्यसै तस्बिरमा आधारित शीर्षक बनाएर कविता लेख्नका लागि १५ मिनेटको समय दिएको थियो ।
समय सकिएपछि युग सर्वनामले त्यही तस्बिरलाई आधार बनाएर ‘स्वाभिमानको फूल’ शीर्षकको कविता वाचन गरे । त्यसपछि नीलम गुरुङले ‘म आमा बन्न चाहन्नँ’ शीर्षकको कविता वाचन गरिन् ।
कविता सुनाएपछि युग सर्वनामले १४४ अंक र नीलम गुरुङले १५४.५ अंक प्राप्त गरेकी थिइन । रिजल्टको प्रस्तुतिपछि नीलम गुरुङको ‘द पोएट आइडल’ यात्रा जारी नै रह्यो भने युग सर्वनाम पोएट आइडलबाट बाहिरिए ।
‘द पोएट आइडल’बाट बाहिरियसँगै युग सर्वनामलाई ‘द पोएट आइडल’को अनलाइन पार्टनर साहित्यपोस्टबाट उपहारस्वरूप केही किताबहरू पाए । यससँगै किताब यात्राले पनि उपहारको रूपमा केही किताबहरू उपलब्ध गरायो ।
युग सर्वनाम बाहिरियसँगै गगन लिम्बु, छविना लुङ्गेली मगर, मिल्सन राई, अनुप न्यौपाने, पिंकी बोहोरा र नीलम गुरुङले ‘द पोएट आइडल’को अर्को चरणमा आफ्नो स्थान पक्का गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

