
काठमाडौँ, १३ माघ
पवित्रा ढकाल स्मृति कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८० नियात्राकार गीता खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार महेश पौड्यालको संयोजनमा माघ १२ गते काठमाडौँमा बसेको निर्णायक समितिको बैठकले उक्त पुरस्कार अमेरिका रहेर नियात्रा विधामा साधनारत साहित्यकार खत्रीलाई यस विधाको उन्नयनमा उनले पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरेको कोषकी सदस्य–सचिव भवानी खतिवडाले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन् ।
रु. ५१०००/— नगत तथा सम्मानपत्र रहेको उक्त पुरस्कार खत्रीलाई उनका नियात्राकृति झोखाङदेखि मजाटलानसम्म (२०७१) र उडेको आकाश डुलेको धरती (२०७८) का लागि तथा प्रवासमा रहेर पनि नियात्राको विकासमा निरन्तर सक्रिय रहेर उनले पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । नियात्रका अतिरिक्त खत्रीका गीत, गजल र कथाका सङ्कलन तथा साङ्गीतिक अल्बमहरू प्रकाशित छन् ।
आफैँ सिर्जना गर्नुका साथै प्रवासमा रहेर नेपाली साहित्य सिर्जनामा साधनारत अनेकौँ स्रष्टाहरूलाई दशकौँदेखि उनले निरन्तर सहयोग गरिरहेकी छिन् । उनले नेपाली लेखकहरूको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ मा रहेर समाजकी केन्द्रीय महासचिव, केन्द्रीय अध्यक्ष तथा बोर्ड अफ ट्रस्टिजका अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेकी छिन् ।
यो पुरस्कार प्रत्येक वर्ष श्रीपञ्चमीका दिन घोषणा गरेर अर्को वर्षको जेष्ठ १३ गते प्रदान गरिने परम्परा रहेको भए पनि पुरस्कृत स्रष्टा खत्री हाल अमेरिकामा रहेको हुनाले उनी नेपाल आएको बेला उपयुक्त समय हेरेर यो पुरस्कार वितरण गरिने सदस्य–सचिव खतिवडाले जनाएकी छिन् । २०७६ सालदेखि प्रदान गर्न प्रारम्भ गरिएको यो पुरस्कार खत्रीभन्दा अघि नियात्राकारहरू डा. तारानाथ शर्मा, सत्यमोहन जोशी, देविचन्द्र श्रेष्ठ र भुवनहरि सिग्देलले प्राप्त गरिसकेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

