वाशिंटन डिसी, जनवरी २३ / विख्यात साहित्यकार पारिजातको जीवनी पुस्तक “सुश्री पारिजात” अब अमेजन (Amazon.com)बाट विश्वभर उपलब्ध हुने भएको छ ।

गत मंसिर २२ गते काठमाडौंमा विमोचन भई बिक्री वितरण शुरु भएको “सुश्री पारिजात” पुस्तक नेपाल तथा नेपालबाहिर विश्वका विभिन्न मुलुकका बहुसङ्ख्यक नेपालीहरूले चासो राखेका थिए र कसरी सहज ढङ्गले उपलब्ध हुन्छ भन्ने जिज्ञासा थियो । त्यो जिज्ञासा मेटिएको छ । अब अमेजनको प्रिण्ट अन डिमाण्ड (POD) का माध्यमबाट अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा सहजै उपलब्ध हुन्छ ।

२०२२ सालमा आफ्नो पहिलो उपन्यास कृति “शिरिषको फूल” का लागि मदन पुरस्कार पाउने पारिजातका कृतिहरू पाठकहरूले आज पनि रुचिका साथ पढ्ने गर्दछन् । उनको जीवनका सबैपक्ष समेटिएर विस्तृत रुपमा लेखिएको यो जीवनी पाठक, अध्येता, नेपाली साहित्यका विद्यार्थी तथा अनुसन्धानकर्ताहरू सबैका लागि उपयोगी हुने बताइएको छ ।

यसका लेखक गोविन्द गिरी प्रेरणाले दुई दशक अध्ययन अनुसन्धान गरेर लेखेको यो कृति साहित्यपोष्टको वेष्ट सेलर सूचीमा समेत रहेको छ ।