रूपन्देही, माघ ६ / प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीले साहित्यकार कविता पाैडेलकाे जन्मदिनको अवसरमा भर्चुअल माध्यमबाट खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिल लामिछानेको सभापतित्वमा भएको हाे ।

कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा साहित्यकार पुण्य खरेल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा साहित्यकार द्वय माेदनाथ प्रश्रित र कविता पाैडेल हुनुहुन्थ्यो । कविताको मूल्याङ्कन समितिमा प्रा.डा. यदुनन्दन उपाध्याय, साहित्यकारद्वय रुद्र ज्ञवाली र कविराज पाैडेल हुनुहुन्थ्यो । उपस्थित अतिथिलगायत सहभागीहरूलाई शब्दका माध्यमबाट स्वागत गर्ने काम प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. गितु गिरीले गर्नुभयो ।

प्रतियाेगी कविताहरूकाे मूल्याङ्कनका आधारहरूकाे प्रस्तुति मूल्याङ्कन समितिका संयाेजक प्रा.डा. यदुनन्दन उपाध्यायले गर्नुभयो । उहाँले विषय, भाव वा विचारका लागि २०, लयविधानका लागि १० र भाषाशैली (अलङ्कार, बिम्ब-प्रतीक) का लागि १५ र प्रस्तुतिका लागि ५ अंक छुट्याइएको कुरा स्पष्ट पार्नुभयाे । सबैलाई राम्रो प्रस्तुतिका लागि शुभकामनासमेत दिनुभयो ।

यसपछि प्रतियाेगी कविहरूका कविताकाे प्रस्तुति रह्यो । गुल्मीका कवि विष्णु घर्ती ‘भनभनेली’ले ‘समृद्धिका सम्वाहक जनताजनार्दन’ शीर्षकमा, काठमाडौकी स्रष्टा ललिता दाेषीकाे ‘विभेदका पर्खालहरू’, एस. बी. प्रगतिले ‘बा भन्नुहुन्छ’, नारायण खनाल अर्घाखाँचीले ‘खाेजिरहेछु देश’, सुवास रिजाल रुपन्देहीले ‘पिर्के सलामी’, आर बी निश्चल पाल्पाले ‘डिप फ्रिज पठाउनू छाेरा’, विनायक पन्त ललितपुरले ‘ब्रह्माण्डकाे मस्तिष्क’, जीवनहरि शर्मा इलामले ‘फर्केर आऊ युवा’, जलदीप सापकोटाले ‘नारी’, विष्णुप्रसाद बस्याल अर्घाखाँचीले ‘कवि र नेता’, जाेशिका कंडेल कपिलवस्तुले ‘हाे विश्वकै सुन्दर’, डा. निष्ठा पाैडेल दुवैले ‘मेरी आमा’, कृष्णप्रसाद पाण्डे कपिलवस्तुले ‘संसारको स्वर्ग यो’, सिर्जना खनाल रुपन्देहीले ‘प्रकृतिसँग म’, रचना शर्मा चितवनले ‘बाघ’, उपेन्द्र अधिकारीले ‘बरू तिमी मर्नुपर्थ्याे’, पुष्कर रिजाल बाँकेले ‘धरहराकाे वकपत्र’, किशन पाैडेल हेटौंडाले ‘बा’, दीप पाण्डे स्याङ्जाले ‘सपनाहरूकाे पर्खाल’, प्रीति आत्रेय कम्बोडियाले ‘शक्ति जाे छ माेहकाे’, कृतिका लाैडारी हेटौंडाले ‘कात्रो ओड्न मनै थिएन अहिले’, सुलभ अधिकारी नवलपरासीले ‘इच्छा छ याे अन्तिम’, गुराँस ठकुरी महेन्द्रनगरले ‘देश’, अभिषेक ओझा बाराले ‘बृद्धाश्रमबाट आमाको चिठी’, शिरीष वन्जाडे कपिलवस्तुले ‘पश्चाताप’, निमा पाैडेल नवलपुरले ‘आमा’, दुर्गाप्रसाद श्रेष्ठ रुपन्देहीले ‘विश्वासको मत’, ज्ञानेन्द्र ढुङ्गाना मेचीले ‘कान्तिपुरी नगरी’, प्रकाश नेपालीले ‘नारी भयाै किन ?’ यज्ञलाल सुवेदीले ‘सपना’ शीर्षकमा कविता प्रस्तुत गर्नुभयो । लिखित रूपमा कविता पठाएका तर वाचनका समयमा भने केही कविहरूकाे अनुपस्थिति रह्यो । कविता गद्य र पद्य शैलीमा प्रस्तुत गरिएको थियोे । समसामयिक समय चेतनामा आधारित कवितामा देशप्रतिकाे चिन्ता, सामाजिक सद्भाव, मानवीय संवेदनालाई सघन रूपमा प्रस्तुत भएको थियोे । सामाजिक सुधार र व्यक्तिमा परिष्कारकाे चाहना कवितामा पाइयो । नेपाली समाजकाे तड्काराे अवस्थाप्रति कविहरू सचेत रहेको कुरा धेरैजसाे कवितामा व्यक्त भएको थियो । कवित्व कला र शिल्प पक्ष पनि स्तरीय देखियो कवितामा ।

कार्यक्रममा मूल्याङ्कन समितिका सदस्य साहित्यकार रुद्र ज्ञवालीले प्राप्त नतिजा सुनाउनुभयो । उहाँले मूल्याङ्कन के कसरी गरियो भन्ने विषयमा प्रकाश पारी विजयी कविहरूकाे नाम प्रस्तुत गर्नुभयो । प्रतियोगितामा ललितपुरका विनायक पन्तकाे ‘ब्रह्माण्डकाे मस्तिष्क’ शीर्षकको कविता प्रथम, बाँकेका पुष्कर रिजालकाे ‘धरहराकाे वकपत्र’ कविता द्वितीय र महेन्द्रनगरकी गुराँस ठकुरीको ‘देश’ शीर्षकको कविता तृतीय भएको घाेषणा गर्नुका साथै विजेताहरूलाई बधाई ज्ञापनसमेत गर्नुभयो ।

कार्यक्रममा केही शुभकामना मन्तव्य पनि राखिएको थियोे । हाल कम्बोडियामा रहेकी साहित्यकार प्रीति आत्रेयले आफ्ना बाबाका साथी माेदनाथसँग साक्षात्कार गर्न पाएकोमा धेरै खुसी लागेको कुरा व्यक्त गरी विशिष्ट अतिथि कविता पाैडेललाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो । कलकत्ताका स्रष्टा नारायण हुमागाईँले कविता पाैडेलकाे लामो आयुकाे शुभकामना व्यक्त गरी देशबाहिर रहेकाहरूलाई पनि कार्यक्रममा सम्झिएर निमन्त्रणा गरेकाेमा धन्यवाद व्यक्त गर्नुभयो । प्रतिष्ठानका सल्लाहकार विजय सागर श्रेष्ठले कविता दिदीलाई हृदयदेखि शुभकामना व्यक्त गरी प्रविधिका माध्यमबाट प्रतियोगितात्मक कविता गाेष्ठी सफल रूपमा सम्पन्न भएकोमा खुसीसमेत व्यक्त गर्नुभयाे । विशिष्ट अतिथि कविता पाैडेलले आफ्नो जन्मदिनको अवसरमा कविता प्रतियोगिताको भव्य आयाेजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरी बुढेसकालकाे अनुभूति समेटिएको कविता वाचनसमेत गर्नुभयो । विशिष्ट अतिथिकै रूपमा आमन्त्रित साहित्यकार माेदनाथ प्रश्रितले जुम प्रविधिका कारण विश्वव्यापी रूपमा साहित्यकाे आदानप्रदान गर्ने अवसर मिलेको सन्दर्भ उठाई उपस्थित कविहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । सभापतिहरूको भूमिकामा रहनुभएका प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिल लामिछानेले प्रतियोगितामा देश तथा विदेशबाट सक्रिय रूपमा सहभागी भएका कवि प्रतिभाहरूप्रति आभार व्यक्त गर्नुभयो । विजयी कविहरूलाई बधाई ज्ञापन तथा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रविधिको संयाेजन गर्ने काम साहित्यकार कविराज पाैडेलले गर्नुभएको थियोे । कार्यक्रमकाे सहजीकरण गर्ने काम प्रतिष्ठानका महासचिव डा. शालिकराम पाैड्यालले गर्नुभएको थियोे । जुमका माध्यमबाट भव्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न भयो ।