पाल्पा, माघ २ / धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे उपस्थितिमा उहाँको नवीनतम उपन्यास ‘बाआमा’माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै ‘बाआमा’माथि प्रकाश पार्नुभयो । ऐनाले समेटेको समाज र वर्गकाे सन्दर्भमा रामलालले न्याय गरेको सङ्केत उहाँले गर्नुभयो । स्थापित लेखकले फरक विषयलाई स्थापित गर्नु आफैँमा चुनाैती रहेको विचार उहाँले व्यक्त गर्नुभयो । बाआमाभित्रका १२ वटा कथाहरूकाे विषयवस्तुगत भावलाई संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो ।
कृतिमाथि अर्का समीक्षक टंक पन्थले पनि समीक्षा गर्नुभयो । कृतिले समेटेको समकालीन सामाजिक तथा सांस्कृतिक समस्यालाई लेखकले उधिन्ने काम गरेको उहाँको भनाइ थियो। सामाजिक, पारिवारिक संरचना विघटन हुँदै गएको सन्दर्भ पनि कृतिले उजागर गरेको कुरा प्रकाश पारियो । गीतकाे साङ्गीतिक छटा, कवित्वमय प्रस्तुति, निबन्धात्मक, निजात्मकता र संवेदनात्मक अनुभूतिका साथमा आख्यानकाे संयाेजन गरिएको उहाँले बताउनुभयो । उहाँले वर्तमानमा देखिएको पुस्तान्तरणकाे समस्यालाई कथाका रूपमा उन्ने काम भएको कुराका साथै यो कथा रामलाल जाेशीकाे मात्र नभई धेरै पाठकले आफ्नो ठान्ने तुल्याउनु नै लेखकीय सफलता रहेको उहाँले टिप्पणी गर्नुभयो ।
पत्रकार महासंघ नेपाल पाल्पाका पूर्व सभापति तथा साहित्यकार गाेविन्दप्रसाद भट्टराईले जिज्ञासासहित शुभकामना व्यक्त गर्नुभयो ।
राजेन्द्रगाेपाल सिंहले रामायण र महाभारत ग्रन्थहरूकाे सन्दर्भ उठाउन गरी लेख्नेमा मात्र महत्त्व नहुने बताउँदै समीक्षकहरूले कृतिको सन्दर्भ राम्रो गरी उठाएको उल्लेख गर्नुभयो । साहित्यमा ज्ञानका कुराहरू खोज्न, बहस गर्न, कृति किनेर पढ्न उहाँले हौसला गर्नुभयो ।
क्याम्पस प्रमुख तथा साहित्यकार टंकप्रसाद भट्टराईले पाल्पामा विभिन्न संस्थाहरूले साहित्यिक गतिविधि सञ्चालन गरिरहेकाे सन्दर्भलाई जाेडी धवल पुस्तकालयले यो कार्यक्रमकाे आयोजना गरेकोमा धन्यवाद दिनुभयो । उहाँले जल्दाेबल्दाे विषयकाे उठान गरेकामा लेखकलाई बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष आकर्षक व्यक्तित्व ‘बाआमा’ कृतिका लेखक रामलाल जाेशीले बीसौँचाेटि पाल्पा आएको तर साहित्यिक हिसाबले याे दाेस्राे आगमन रहेको बताउनुभयो । याे अभियानमा घुम्दै गर्दा छब्बीसाैँ दिनमा पाल्पा आइपुगेकाे, यस क्रममा र सयाैँ दिग्गज व्यक्ति र प्रिय पाठकहरूसँग साक्षात्कार भएको कुरा उल्लेख गर्नुभयो । यस यात्राले म देशकै मान्छे रहेछु भन्ने अनुभूति भएको विचार व्यक्त गर्नुभयो । परिपक्व भइसकेपछि आख्यानमा हात हालेको र सुरुमा सुदूरपश्चिमलाई नै आधारभूमि बनाएर लेखेको यथार्थ उल्लेख गर्नुभयो । उहाँले यस क्रममा आलोचना र प्रशंसाहरू आएको यी सबैलाई सहज रूपमा लिएको बताउनुभयो । उहाँले नेपाली लेखकहरू अनुसन्धानमूलक लेखनमा लाग्नुपर्ने बताउँदै आफूभित्र पिरिएर रहेको पिलाे निचाेर्ने काम यही बाआमाले गरेको उहाँले बताउनुभयो । उहाँले यस उपन्यासमार्फत सबैका पिला निचाेर्न पुगेको बताउँदै उहाँले आजसम्म प्रकाशित कृतिहरूमध्ये ‘बाआमा’ नै प्रिय कृति रहेको धारणा पनि राख्नुभयो ।
कार्यक्रम नारी स्रष्टा मन गहिरेले पनि आफ्ना धारणा राख्नु भएको थियो । पुस्तकालयका अध्यक्ष युवराज पाैडेलले रामलाल जाेशीलाई धन्यवाद व्यक्त गरी ‘बाआमा’ पुस्तक पठनीय लागेको बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।