स्रष्टा साँझ अमेरिकाको आयोजनमा शेखरकुमार श्रेष्ठद्वारा लिखित ‘छाता’ लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । पोखरामा भएको विमान दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणपछि कार्यक्रम सुरुआत गरिएको थियो ।

‘छाता’ लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रममा ममता मृदुलले स्रष्टा श्रेष्ठको परिचय दिँदै कृतिमा माया, प्रेम, सामाजिक, पारिवारिक समस्या प्रस्तुत भएको भन्दै कृति पढ्दा समाजमा प्रवेश गरेको अनुभूति पाइने बताउनुभयो ।

अर्का परिचर्चाकार सत्या अधिकारीले कृतिमा मानवीय स्वभाव चित्रण हुनुका साथै प्राकृतिक विम्ब र प्रतीकको प्रयोग गरी मानवीय प्रकृति चित्रण भएको कुरा उल्लेख गर्नुभयो । उहाँले कृति किनेर पढ्दा लागत मूल्य उठ्ने भन्दै सबैलाई कृति पढ्न र प्रतिक्रिया दिन अनुरोधसमेत गर्नुभयो ।

कार्यक्रममा अर्का समीक्षक वन्दना घिमिरेले सत्यलाई माया गर्ने दर्शनको चेत कृतिमा रहेको कुरा उल्लेख गर्नुभयो । कृतिभित्रका लघुकथामा ‘दिएर आनन्द पाइने भाव’ यत्रतत्र उठाइएको उहाँको भनाइ थियो ।

त्यस्तै, अर्का समीक्षक कुमुद शर्मा प्याकुरेलले ‘नातिनी’ शीर्षकको लघुकथा वाचन गर्दै लेखनको सूक्ष्म विश्लेषण गर्नुभएको थियो । उहाँले पारिवारिक तथा सामाजिक विषयमा लघुकथा लेखिएको बताउँदै तत्त्वगत आधारमा विवेचना गर्नुभएको थियो । उहाँले प्रायः कथा तीन एक (घटना, स्थान र समय) परिपालन भएको तर घटना, परिवेश र समयको विस्तार भने लघुकथामा सीमा बनेको बताउनुभएको थियो ।

त्यसै गरी अर्का समीक्षक कुसुमाकर शर्माले श्रेष्ठका ‘छाता’भित्रका लघुकथाहरूले सकारात्मक सन्देश तथा दार्शनिक चिन्तन बोकेको भन्दै भावभन्दा विचार पक्ष सशक्त रहेको बताउनुभयो । उहाँले पनि लघुकथामा आकस्मिक सुरुआत सबै लघुकथामा नभएको साथै अन्त्यमा विस्तार बढी भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै, परिचर्चामा खेमराज पोखरेलले लघुकथा सरल, यथार्थ, अग्रगमनको खोजमा केन्द्रित हुनुका साथै स्वैरकल्पनाले लघुकथालाई बलियो बनाएको जनाउनुभयो । उहाँले लघुकथाहरू सशक्त भए पनि आकस्मिक उठान र उत्कर्षात्मक अन्त्य केही लघुकथामा सीमा बनेको चर्चा गर्नुभयो । समष्टिमा प्रकाशित लघुकथाहरूमध्ये कृति राम्रो बनेको कुरा परिचर्चाकार पोखरेलले बताउनुभयो ।

कृति समीक्षाका क्रममा सञ्चालक विश्वराज अधिकारीले आफूले स्रष्टाका एकैसाथ विमोचित ‘बोकाको खुसी’ र ‘छाता’ दुवै लघुकथासङ्ग्रह पढेको र तिनमा सन्देश पाइने बताउनुभयो ।

सो अवसरमा डा. युवराज भट्टराईले आफ्ना लघुकथा वाचन गर्नुभएको थियो भने रन्जु खनालले पनि ‘छाता’भित्रका लघुकथाहरूले मानवीय स्वभाव चित्रण गर्नुका साथै सामाजिक विकृति विसङ्गतिप्रति सचेत हुन आग्रह गरेको कुरा बताउनुभएको थियो ।

कार्यक्रममा लता केसी, रामकुमार पण्डित, प्रवीण जोशी, छायादत्त न्यौपाने, रचना शर्मा, रजनी खत्री, कृष्ण बजगाईँ, प्रनिशा थापा लगायत डेढ दर्जन सर्जकको उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा छाताका स्रष्टा डा. शेखरकुमार श्रेष्ठले आयोजकका साथै समीक्षक, सहभागी दर्शक, मुहार पुस्तिकाका दर्शकलगायत सम्पूर्ण लघुकथा अनुरागीलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको चर्चा परिचर्चाले लेखकलाई लेखन ऊर्जा मिल्ने बताउनुभएको थियो । उहाँले कृतिका कमजोरीलाई स्वीकार गर्ने कुरा व्यक्त गर्दै आगामी लेखनमा यसको प्रयोग हुने प्रतिबद्धता जनाउनुभएको थियो । शब्दपथ