दोलखा / यस वर्षको विष्णुलक्ष्मी/तुलसीमाया साहित्य सम्मान २०७९ रवीन्द्र तामाङलाई प्रदान गरिएको छ ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको ११ औं वार्षिक साधारण सभाको अवसरमा नगद दश हजार राशीसहित तामाङलाई सम्मान गरिएको हो ।
कला, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा विगत साढे दुई दशकदेखि कलम चलाउदै आउनु भएका तामाङका ६ वटा कृति प्रकाशित छन् ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले २०६८ सालदेखि कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना व्यक्तिलाई वार्षिक साधारण सभाको अवसरमा सम्मान गर्दै आएको छ ।
साहित्यकार तथा पत्रकार चिरञ्जीवी मास्केले आफ्ना जन्म दिने र कर्म दिने आमाहरुको नाममा स्थापना गरिएको पुरस्कार हो ।
वार्षिक साधारण सभाकै अवसरमा साहित्यिक पत्रिका प्रदेय पनि सार्वजनिक गरिएको छ । विभिन्न विधा समेटिएको उक्त प्रदेय विगत ११ वर्षदेखि वार्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।
साधारण सभा समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षता र बागमती प्रदेश समितिका सांसद भरत केसीको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, पत्रकारहरु रमेश खतिवडा, दीपशंकर चौलागाई र विनिता शिवाकोटीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जीवन लामाद्वारा प्रेषित समाचार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।