काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका विद्यार्थीद्वारा सञ्चालित नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्थी सञ्जालसँगको सहकार्यमा राष्ट्रिय कविता महोत्सव-२०७९ आयोजना गरेको छ। महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता, सन्देशमूलक नाटक प्रदर्शन र सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो।

महोत्सवमा भौतिक रुपमा र प्रविधिको माध्यमबाट सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका विद्यार्थीलाई एकै ठाउँमा ल्याइएको थियो। महोत्सवमा जम्मा ७० जना हाराहारीमा सहभागीहरू उपस्थित भएका थिए।

धुलिखेल नगरपालिका सभा हलको प्रेक्षालयमा सञ्चालित महोत्सवको प्रमुख अतिथि चर्चित गीतकार एवम् साहित्यकार हरिहर तिमिल्सिना थिए भने विशिष्ट अतिथिको रुपमा पिडिएस नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता अजय शंकर झा ‘रुपेश’ र सोही संस्थाका अध्यक्ष तथा पूर्व मुख्य न्यायाधीश एकराज आचार्य उपस्थित थिए।

महोत्सवमा सञ्चालित विद्यार्थी केन्द्रित कविता प्रतियोगितामा नेपाली भाषाविज्ञ डा. अम्बु भवानी कार्की, चर्चित कवि तथा समाजसेवी राजेन्द्र ओझा, चर्चित कवि सुवास सिंह पराजुली र चर्चित कवि रञ्जना निरौला सम्मिलित चार सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो।

उक्त टोलीले विद्यार्थी कविहरूको कवितालाई सूक्ष्म रुपमा केलाएर निर्णय गर्दा कवि प्रतीक अधिकारीले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने कवि सुजन अछामीले दोस्रो स्थान, कवि स्वस्ति बास्तोला ‘सफलता’ले तेस्रो स्थान र कक्षा ७ मा अध्ययनरत कवि कृतिका लामिछानेले चौथो स्थान हासिल गर्न सफल हुनुभएको छ।