भूगोल साहित्य समाजको आयोजनामा पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रमबीच मुकुन्द अर्यालको उपन्यास कृति ‘जीबाको चौतारी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति संस्कृतिविद् डा.जगमान गुरुङ हुनुहुन्थ्यो ।
सार्वजनिक कृतिका बारेमा कवि एवम् निबन्धकार मित्रलाल पंगेनीले समीक्षात्मक टिप्पणी गर्दै कृतिका बलिया र कमजोर पक्ष बारे आफ्नो धारणा राख्नुभएको थियो भने पूर्व सहायक मन्त्री दीनबन्धु अर्याल, ज्याग्दीखोल साहित्य प्रतिष्ठान, स्याङजाका अध्यक्ष देबेन्द्र लम्साल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आआफ्ना सम्बोधन मार्फत् कृतिकारलाई शुभकामना दिनुभएको थियो । कृतिकार मुकुन्द अर्यालले कृतिको रचनागर्भ बारे जानकारी गराउनुहुँदै कार्यक्रममा उपस्थित हुने र आफूलाई लेखनमा उत्प्रेरणा र सहयोग दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव दामोदर रेग्मी, समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ र उद्धव खनाललगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा आगन्तुकको स्वागतमा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार राजेश खनालले गर्नुभएको थियो ।
कविको रूपमा पहिचान बनाइसक्नुभएका अर्यालको यो चौथो र प्रथम औपन्यासिक कृति हो । यसअघि उहाँका दुई कवितासङ्गह र एक लघु उपन्यास प्रकाृशित छन् । झण्डै दुई घण्टा चलेको कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा स्थापित साहित्यिक संस्था हो । विभिन्न अवसर र सन्दर्भ पारेर साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको झण्डै तीन वर्ष अघि स्थापित समाजको यो २०औँ कार्यक्रम हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।