विराटचोक, मोरङ / सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य “किनारीकृत माइली” आज एक विशेष समारोहको आयोजना गरी लोकार्पण गरिएको छ।
साहित्यकार छवि वैरागीको यो नवौं कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायक तथा चलचित्र अभिनेता एलपी जोशी हुनुहुन्थ्यो।
कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार मनु मन्जिल, केशव सुनाम, सुन्दरहरैँचा नगरपालिकाका पूर्व संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल, हर्कमान तामाङ, सावित्रा परियार, आधुनिक साहित्य परिषद् काठमाडौँका अध्यक्ष मुरलीप्रसाद ढकाल, गौरी पब्लिकेसन्सका प्रबन्धक तथा साहित्यकार दामोदर ढकाल, नयाँ वृन्दावन गौशालाका पिठाधीश दीनबन्धु शास्त्री लगायत अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।
खण्डकाव्य लोकार्पण कार्यक्रममा पुस्तकको मूल दृष्टिकोणलाई नाट्यकर्मीद्वारा नाटकमा रूपान्तरण गरी नाटक मञ्चन, पुस्तकभित्रका रचनालाई सङ्गीतका माध्यमद्वारा रचनावाचन गायक दुर्गा पराजुली तथा गायिका तारा पराजुली ढकालले प्रस्तुत गर्नु भएको थियो।
कला, साहित्य, सङ्गीतलाई समेटेर आयोजना गरिएको कार्यक्रममा गायिका द्वय गङ्गा विष्ट, कविता लिम्बू तथा आयुष विष्टले आधुनिक गीत प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी प्रमुख अतिथिद्वारा भएको थियो भने खण्डकाव्यका लेखक छवि वैरागी घिमिरेले कृतिको रचना गर्भमा आफ्नो मन्तव्य दिँदै किनारीकृत माइली खण्डकाव्य एक यथार्थ माया प्रेमको वियोगान्त घटनाको एक कालखण्डलाई लिएर रचना गरिएको बताउनु भयो। जसमा समाजमा भएको जातीय छुवाछूतका कारण प्रेम असफल भएको र जातीय विभेदका कारण यस्ता घटना समाजमा अझै घटिरहेका छन् र हामीले समाज रुपान्तरण गर्न मानव विभेदको अन्त्य गर्न आफ्नोतर्फबाट उठ्नु पर्ने बताउनु भएको थियो। लेखक छवि वैरागीले आफ्ना पिताले जातीय विभेद अन्त्य गर्न तत्कालीन पञ्चायतकालमा खेल्नु भएको अहम् भूमिकाबाट प्रभावित भएर आफ्नोतर्फबाट लेखकीय माध्यमबाट पनि जनचेतना फैलाउन सकिन्छ भन्ने मूल उद्देश्य राखी समाजको यथार्थ घटनालाई पुस्तकको रूप दिएर समाजको विद्यमान कुरीतिलाई अन्त्य गर्न सकिन्छ कि भन्ने भावना यस पुस्तकमा प्रकाश पारिएको बताउनु भएको थियो साथै जातीय विभेद अन्त्य गर्न दलितले मात्र आवाज उठाएर समाधान हुन नसक्ने र जबसम्म गैरदलितले जातीय छुवाछूत गर्न हुँदैन सबै मानव एक हुन् भन्ने बुझ्न सकिन्न तबसम्म समस्या यथावत् रहने र जनचेतनाका लागि यो पुस्तक लेखेको बताउनु भएको थियो।
कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले मन्तव्यका क्रममा पुस्तकले दिन खोजेको जनचेतना अति नै सकारात्मक भएको बताउनु भएको थियो ।
यसैक्रममा प्रमुख अतिथि एलपी जोशीले हामी मानव हौँ र मानव भनेको चेतनाका हिसाबले उच्च प्राणी हो त्यसैले समान व्यवहार गर्न सके र सिक्न सके समानता हामीभित्रै छ हुनेछ। यस्ता चेतनामूलक पुस्तकका माध्यमबाट होस् या हामीले आआफ्नो ठाउँबाट विभेदको अन्त्य गर्न अग्रसर हुनुपर्छ भन्ने भनाइ व्यक्त गर्नु भयो। कार्यक्रममा इलाम झापा मोरङ सुनसरी देखिका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सुन्दरहरैँचा कला साहित्य विकास समितिले आयोजना गरेको थियो भने कार्यक्रमलाई संस्थाका सचिव केपी घिमिरेले प्रस्तुत गरेका थिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।