२५ वर्षअघि चार जना निबन्धकारहरूले प्रथम कृतिका रूपमा प्रकाशन गरेको ‘संवेदनाका स्वरहरू’को रजत वर्ष पुगेको अवसरमा सो पुस्तकमाथि शुक्रबार काठमाडौँमा परिचर्चा आयोजन गरियो ।

चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशले संयुक्त रूपमा निकाल्नु भएको ‘संवेदनाका स्वरहरू’ निबन्ध संग्रह प्रकाशित भएको २५ वर्ष पुगेको छ ।

शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले कृतिकारहरूलाई बुझ्न ‘संवेदनाका स्वरहरू’भित्र पस्नुपर्ने बताउनुभयो । उहाँले चारै निबन्धकारहरूले कलात्मक निबन्ध प्रस्तुत गरेको उल्लेख गर्दै २५ वर्षपछि पनि चारै स्रष्टा निबन्ध लेखनमा क्रियाशील रहेको बताउनुभयो ।

अर्का समालोचक महेश पौड्यालले यी चारै निबन्धकारले निबन्धलाई क्लिष्टताबाट मुक्त गर्नुभएको बताउनुभयो । उहाँले साहित्यमा प्रयुक्त सिद्धान्त र शब्दावलीले पाठकबीच आतङ्क सिर्जना गरिरहेको तर्क पनि गर्नुभयो ।

समारोहमा चारै स्रष्टाले २०५४ सालमा ‘संवेदनाका स्वरहरू’ प्रकाशन गर्दाको पीडा र खुसी साट्नुभयो । ३५ रुपैयाँ मूल्य राखिएको कृति बेच्दै हिँडेको र बिक्रीपछि मात्रै प्रेसको पैसा तिरेको क्षण सो अवसरमा उहाँहरूले स्मरण गर्नुभएको थियो ।

त्यस्तै चारै निबन्धकारले निबन्धकारिताको प्रारम्भिक कालमा डा. शैलेन्दुप्रकाश नेपालबाट पाएको साथ, सहयोग र हौसलाको चर्चा गर्नुभयो । ‘संवेदनाका स्वरहरू’ डा. नेपालले सम्पादन गर्नुभएको थियो ।

डा. नेपालले निबन्ध साहित्यको आत्मा भएको उल्लेख गर्दै २५ वर्षसम्म पनि पहिलो संस्करणमै रहेको यस कृतिको दोस्रो संस्करण प्रकाशित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस कृतिमा चारै स्रष्टाका ४/४ निबन्ध छन् । चारैका थप ४/४ निबन्धसहित कृति प्रकाशन गर्नुस् । त्यसको सम्पादन पनि मैले नै गर्छु ।”

कार्यक्रममा ०५४ सालमा कृतिको आवरण चित्र बनाउने कलाकार केके कर्माचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो । सम्बोधनका क्रममा यो क्षण आफ्ना लागि स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

समारोहमा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली र श्रीबाबु कार्कीले पनि बोलेका थिए ।