कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले, २०७८ सालका तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई, कृष्ण भूषण बल सिर्जना सम्मान कवि सुधा एम राई र कृष्णभूषण बल सिर्जना युवा सम्मान कवि रोशन परियारलाई प्रदान गरिने भएको हो ।
तीसको दशकदेखि नेपाली साहित्यको कविता र गीत विधामा दिएको योगदानका लागि अधिकारीलाई र कविता विधामा नै दिएको योगदानका लागि राई र परियारलाई उक्त पुरस्कार सम्मान दिइने निर्णय गरिएको हो ।
पुरस्कार राशि क्रमश रु. पच्चीस हजार, पन्ध्र हजार र एघार हजार रहेको छ । यसअघि यी पुरस्कारहरूबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ र विष्णुविभु घिमिरे पुरस्कृत भइसक्नु भएको छ ।
यसैगरी कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, र युवा पुरस्कारबाट कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल, डा. गीता त्रिपाठी पुरस्कृत भइसक्नु भएको छ ।
प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति रहेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।