काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)द्वारा रचित गीतहरूको सङ्ग्रह ‘आमआलाप’ विमोचन गरिएको छ । शनिबार बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषदद्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल तथा सङ्गीतकार वसन्त मुकारुङले संयुक्तरूपमा ‘आमआलाप’को विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि प्रा.डा. बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले भावकका मन र मस्तिष्कलाई झङ्कृत गराउने बताए । उनले भने- “यस सङ्ग्रहमा समाविष्ट गीतकार त्यागीका गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया-प्रेमका साथै समाज र संस्कृति सजीवरूपमा चित्रित भएका छन् ।”
विमोचन समारोहका सभापतिसमेत रहेका वरिष्ठ सङ्गीतकार वसन्त मुकारुङले त्यागीका गीतहरूभित्रै सङ्गीत पाइने विचार व्यक्त गरे । उनले भने- “सङ्गीतकारले धेरै सोचिरहनु नपर्ने खालका गीतहरू छन् सङ्ग्रहभित्र । यो गीतकारको सफलता हो । गीतहरू सरल छन् र सम्प्रेषणीय छन् ।”
प्राज्ञ तथा कवि ध्रुव मधिकर्मीले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको बताए ।
प्रसिद्ध गीतकार टीका चाम्लिङले त्यागीकोे कविता तथा गीत लेखनका बारेमा आफू सुरुदेखि नै साक्षी रहेको उल्लेख गर्दै त्यागी लय र स्वरलाई ध्यानमा राखेर गीत रचना गर्ने क्षमता भएका गीतकार भएको बताए ।
कवि तथा अन्तर्बोध साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक होमशंकर बास्तोलाले त्यागीका गीतहरू अब्बल रहेको बताए ।
त्यागीले गीतरचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीतसङ्ग्रह तयार भएको सुनाए । उनले गीतहरू आफ्ना भावना मात्रै नभएर समाजकै तस्बिर भएको विचार व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी एलिसा ढुुङ्गानाले गरेकी थिइन् । सङ्ग्रहमा जम्मा ८४ वटा गीत समाविष्ट छन् । १०८ पृष्ठको किताबको मूल्य रु. २०० रहेको छ । यसअघि त्यागीको ‘साँघुरो सुर्को’ नामक कवितासङ्ग्रह प्रकाशित छ । रावाबेँसी-५, खोटाङका त्यागी हाल काठमाडौँको कपनमा बसोबास गर्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।