नेपालमा बन्दाबन्दीको अवस्था चलिरहेका समयमा नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने अभियानको थालनी गरिएको छ । विगत दुई वर्षदेखि काठमाडौँको लेखनकुञ्जमा सञ्चालित मासिक शृङ्खला ‘छन्द–तरङ्ग’ बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेपछि रूपन्देहीमा रहेको छन्दवादी समाज नेपालसँगको सहकार्यमा प्रविधिको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय अभियानको थालनी गरिएको हो । डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको कविजोडीले यसको संयोजन गरिरहेका छन्। कार्यक्रमको सञ्चालन कविराज पौडेलले र प्रविधि संयोजन अमेरिकाबाट परशु तिमल्सिनाले गरिरहेका छन् ।

२०७७ जेठ ७ गते नेपाल, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, जापान, इजरायल, म्यान्मा र भारत गरी नौवटा देशका दश जना नेपाली छन्दकविहरूलाई प्रस्तुत गरेर सुरु गरिएको यस अभियानको पाँचौँ शृङ्खला गत असार ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

हालसम्ममा एक दर्जनभन्दा बढी देशमा रहेका ५० जना नेपाली छन्दकविहरूका एक सयभन्दा बढी छन्दकविताहरू प्रसारण भइसकेका छन् । नेपाली छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र शास्त्रीय छन्दका निर्माता आचार्य पिङ्गललाई विश्वमा स्थापित गराउने उद्देश्यका साथ प्रस्तुत कार्यक्रमको थालनी गरिएको कुराको जानकारी कार्यक्रमका संयोजक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । नेपाल भन्छन्, ‘आचार्य पिङ्गलबाट निर्मित शास्त्रीय छन्दहरूको प्रयोग संस्कृत भाषामा त प्रशस्त भएको थियो तर त्यसपछिका हिन्दी, मैथिली, भोजपुरीलगायतका भारोपेली परिवारका र नेवारीलगायतका भोटचिनियाँ परिवारका भाषाहरूले सुरु सुरुमा शास्त्रीय छन्दलाई महत्त्वका साथ प्रस्तुत गरे पनि अहिले ती भाषाहरूले पिङ्गल छन्दलाई छोडिसकेका हुनाले अब पूर्वीय जगत्मा नै शास्त्रीय छन्दलाई बचाउने मूल जिम्मेवारी नेपाली भाषाले पाएको छ । अहिले नेपाली भाषामा ३०० भन्दा बढी शास्त्रीय छन्दको स्वाभाविक प्रयोग भइरहेको हुनाले हामी यस तथ्यलाई गिनिज बुकमा लेखाउने लक्ष्यका साथ अभियानमा जुटेका छौँ ।’

हरेक हप्ता फरक फरक देशबाट दशजना कविहरूलाई छनोट गरी तिनका पनि स्तरीय र मानक कविताहरू प्रस्तुत गराउनु कठिन कार्य भए पनि अभियान पाँचौँ शृङ्खलासम्म विनाव्यवधान सञ्चालन भएकोमा नेपालले खुसी प्रकट गरे ।

यस कार्यक्रममा कविता वाचन मात्र नभई हरेक शृङ्खलामा एकजना विशिष्ट कविलाई प्रमुख अतिथिका रूपमा उभ्याइन्छ र छन्दकवितासम्बन्धी उनका विशेष भनाइहरू सुनिन्छ । कार्यक्रमको थालनीमा डा. देवी नेपालले छन्दकविताको महत्त्व, इतिहास, उपयोगिता, सम्भावना र चुनौतीका बारेमा विशिष्ट जानकारीहरू प्रस्तुत गर्ने र अन्त्यमा डा. रामप्रसाद ज्ञवालीले कविताको सौन्दर्य शास्त्रीय चिन्तन प्रस्तुत गर्ने परम्परा रहेको छ ।

सञ्चालक कविराज पौडेलले पूरै कार्यक्रम छन्दमा नै सञ्चालन गर्ने गरेका छन् । यसबाट श्रोताहरूलाई सैद्धान्तिक ज्ञान, सूचना र मनोरञ्जन एकैसाथ प्राप्त हुने गरेको हुनाले अत्यन्त उपलब्धिमूलक रहेको र यो हजारौँ श्रोता तथा दर्शकहरूको प्रिय कार्यक्रम बनेको प्रतिक्रिया कवि विक्रम पवन परियारले बताए ।

यस अभियानमा वरिष्ठ कविहरू रमेश खकुरेल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल र प्रा. जगत् उपाध्याय प्रमुख अतिथिका रूपमा र डा. घनश्याम परिश्रमी, डा. नवराज लम्साल र मित्रलाल पंज्ञानी अतिथिका रूपमा आइसकेका छन् ।

जेठ १० गते बुधबार प्रस्तुत हुने यस अभियानको छैटौँ शृङ्खला भने फरक प्रकृतिको रहेको छ । यसपटक भने नेपालको सङ्घीय संरचनाअनुसार सातै प्रदेशबाट एक नारी स्रष्टा र एक पुरुष स्रष्टा गरी १४ जना र उपत्यकाबाट दुईजना गरी जम्मा १६ जना छन्दकविहरू प्रस्तुत हुँदै छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त शृङ्खलामा सिङ्गो देशको आवाज सम्प्रेषण हुने कुराको जानकारी आयोजकहरूले दिएका छन् ।

यसरी नै आगामी जेठ १७ गते हुने सातौँ शृङ्खला भने समावेशी छन्दकवि सम्मेलनका रूपमा सञ्चालन गरिने भएको छ । सामान्यतः छन्दकविता ब्राह्मण र क्षेत्रीहरूको मात्र अभिव्यक्तिको माध्यम हो भन्ने नेपाली समाजको धारणामा परिवर्तन ल्याउन यस प्रकृतिको कार्यक्रम गर्न लागिएको र उक्त शृङ्खलामा नेपालको संविधानमा जनजाति, दलित, मधेसी, थारू, मुसलमान आदि भनी वर्गीकरण गरिएका समुदायका एक दर्जन कविहरूका छन्दकविताहरू प्रस्तुत हुने कुराको जानकारी कार्यक्रमका संयोजक डा. देवी नेपालले दिएका छन् । उनको भनाइ छ, ‘केही नयाँपनका साथ प्रस्तुत हुने हो भने प्रशस्त श्रोता र दर्शकहरूको माया पनि पाइँदो रहेछ र थप काम गर्ने हौसला पनि प्राप्त हुँदो रहेछ । त्यसैले जस्तोसुकै परिस्थिति आइलागे पनि छन्दकवितालाई विश्वव्यापीकरण गर्ने र नेपाली कविताको मौलिक चिनारीका रूपमा रहेको छन्दकवितालाई उचाइमा पुर्‍याएरै छाड्ने हाम्रो अभियान रोकिनेवाला छैन । हामी अब भने यस अभियानलाई हरेक महिनाको पहिलो आइतवार नेपाली समयअनुसार साँझ छ बजे मासिक रूपमा वर्षैभरि सञ्चालन गरिरहने छौँ ।’