बेलबारी (मोरङ), पुस २३ / बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङको आयोजनामा अग्रणी साहित्यिक पत्रिका ‘रचना’ को बेलबारी विशेषाङ्क सार्वजनिक गरिएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले रचना पत्रिकाको विशेषाङ्क र गीतकार बालक गुरुङको ‘मोरङ जिल्ला बेलबारी नगर’ बोलको छायाङ्कित गीत सार्वजनिक गरेका थिए । बेलबारी नगरलाई आधार मानेर तयार पारिएको उक्त गीतको छायाङ्कनमा बेलबारी नगरपालिका भित्रका विभिन्न स्थान र संस्कृतिहरूलाई समेटेकिएका छन् ।
राजेश पायल राईको मूल स्वर रहेको उक्त गीतमा बेलबारीकै चलचित्र निर्देशक भीम लामाको निर्देशन, बेलबारीकै उपेन्द्र दुमी राईको नृत्य निर्देशन तथा अधिकांश कलाकारहरू बेलबारी नगरभित्रकै रहेका छन् । त्यस्तै वि.स. २०१८ सालदेखि निरन्तर प्रकाशन भइरहेको दुई महिने साहित्यिक पत्रिका ‘रचना’ मा बेलबारी नगरभित्रका ४४ जना लेखक–साहित्यकारहरूको ४५ लेख–रचनाहरू समेटिएका छन् । कविता, हाइकु, गीत, गजल ३२ ओटा, कथा र लघुकथा ७ ओटा, लेख २ ओटा तथा बाल एकाङ्की, व्यङ्ग्यनिबन्ध, कृति समीक्षा र अन्तर्वार्ता एक एक ओटा रहेका छन् । ‘रचना’ बेलबारी अंकमा इरान राई, गङ्गा सुवेदी, रेखा सुवेदी लगायतको लेख रचना समावेश छन् ।
प्रमुख अतिथि राईले ‘रचना’जस्तो गौरवपूर्ण इतिहास बोकेको पत्रिकामा बेलबारीका लेख–रचनाहरू अट्नु गर्वको विषय भएको भन्दै ‘रचना’ परिवारलाई धन्यवाद दिए । रचनाका प्रधानसम्पादक रोचक घिमिरेले बेलबारीको साहित्यिक माहोल अनुकरणीय रहेको बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।