२१ पौष राति ८: ३० बजेबाट सुरू भएको कविता पनि अघिल्लो हप्ताको जस्तै रोचक रह्यो । उक्त एपिसोडमा पनि कोही कविले गीतार बजाएर कविता वाचन गरे त कोहीले उत्कृष्ट अभिनयका साथ ।

आइडल सुरू हुन्छ कवि मोहनकुमार महतोबाट । कविता वाचनपछि उनीसँगै अरू पनि केही कविहरू दोस्रो चरणको लागि सुरक्षित भएका छन् ।

केही समयपछि “मैले यो मेरो प्रेमिकाको लागि लेखेको कविता हो” भन्दै मञ्च प्रवेश गरेर आफ्नो कविता सुनाउँछन् ओम प्रकाश बानियाँ । उनको कविता सुनेपछि निर्णायक विप्लप प्रतिक भन्छन्, “यो त प्रेम कविता भएन नि !”

अर्की निर्णायक सुरक्षा पन्तले पनि उनको कवितामा आफू सन्तुष्ट हुन नसकेको कुरा बताउँछिन् । उनी दोस्रो चरणका लागि छनोट हुँदैनन् ।

र्याप कविता सुनाउँदै मञ्च प्रवेश गरेका अभिषेक कार्की पनि दोस्रो चरणमा प्रवेश गर्छन् । उनको कवितामा कविताको भाव नभए पनि प्रस्तुतिको कारण उनी दोस्रो चरण प्रवेश गर्न सकेका हुन् ।

यसरी नै कविता सुनाउन आउने जाने क्रम चलिरहेको बेला कवि गगन लिम्बु मञ्च प्रवेश गर्छन्, र माहोललाई शान्त र गम्भीर बनाइदिन्छन् । “म कविता सुनाउनकै लागि भनेर मोरङबाट पहिलोपटक काठमान्डौँ आएको हुँ ।” कविता सुनाइसकेपछि उनी भन्छन् । उनको कविता उत्कृष्ट मात्र रहेन । उनी पर्फर्मर अफ द डे पनि बने ।

सुदूर पश्चिमबाट आएकी कवि मनु कँडेलले आफू दोस्रो चरणमा प्रवेश गरेसँगै, उनले आफू द पोएट आइडलमा जित्न भन्दा पनि केही गतिलो छाप छोड्नका लागि आएको बताएकी छिन् ।

[embedyt] https://www.youtube.com/watch?v=fjvW9A3gGPY[/embedyt]

कविता छन्द र गद्य दुवै रूपमा वाचन हुँदै जान्छन् । यही क्रममा सम्योग बस्यालले छन्द कविता सुनाउछन् । उनलाई ‘छन्द कविता लेख्नको कारण के हो ?’ भनी उद्घोषक दिव्यदेवले सोधेका थिए ।

उत्तरमा बस्याल भन्छन्, “खासमा म संस्कृतको विद्यार्थी हुँ । संस्कृत संस्कार हो र छन्द पनि हो । संस्कृतको प्रेरणाकै कारण मैले छन्द कविता लेखेको हुँ ।”

उनी पनि दोस्रो चरणको लागि सुरक्षित भएका छन् ।

अन्ततः अन्तिम प्रस्तुति भने अरूभन्दा विशेष र चाखलाग्दो हुन्छ । जहाँ मिल्सन राईले कविता वाचन मात्र नगरेर कवितात्मक अभिनय पनि गर्छन् । उनको प्रस्तुति सकिएपछि विप्लप प्रतिक भन्छन्, “तपाईँको अभिनय कति राम्रो । मलाई पनि यस्तै अभिनय गर्ने तालिम दिनुहोस् न ।”

“हजुर अग्रज हुनुहुन्छ । अग्रजलाई मैले के तालिम दिनु ।” उनी हाँस्दै भन्छन् ।

उनको कविता चारै जना निर्णायकहरूलाई मन पर्छ, र उनी सजिलै दोस्रो चरणमा प्रवेश गर्छन् ।

उनको प्रस्तुतीसँगै द पोएट आइडलको तेस्रो एपिसोड समाप्त हुन्छ ।

पहिलो र दोस्रो एपिसोडमा भन्दा तेस्रो एपिसोडमा राम्रा र चाखलाग्दा कविता वाचन भएका छन् । कार्यक्रम निरन्तर परिष्कृत हुँदै आएको छ । स्रोताहरूले केही कविताहरू शीर्षकसहित पूरा सुन्न पाएका छन् । साथै, केही कविहरू भने ‘बाहिरिएका हुन् वा अर्को चरणका लागि छानिएका हुन् !’ भन्नेको प्रस्ट उत्तर स्रोताहरूले पाएका छैनन् ।