मिस्ट एन्ड माउन्टेन क्रिएटिभ रेसिडेन्सी नामक सिर्जनात्मक लेखन सिकाउने संस्थाले नेपालमा आउँदो फेब्रुअरी २५ मा दुई दिने कार्यशाला गर्ने भएको छ ।
काव्य, कथा तथा उपन्यास लेख्न रूचाउने तथा सो विधामा अध्ययन तथा प्राध्यापन गर्नेहरूलाई फलदायी रहने मिस्ट एन्ड माउन्टेनका निर्देशक नवीन के. क्षेत्रीले जनाउनु भएको छ ।
यो कार्यक्रमलाई अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापन गराउनु हुने तथा युरोपभर लेखन शिल्प प्रशिक्षण दिनुहुने अमाल चटर्जीले सञ्चालन गर्नु हुनेछ ।
स्कटल्यान्डमा मुख्य कार्यालय रहेको मिस्ट एन्ड माउन्टेनले गर्न लागेको यस प्रकारको कार्यक्रम नेपालमै प्रथम पटक भएको आयोजक नवीन के. क्षेत्रीले बताउनुभयो ।
इमेलवार्तामा उहाँले यस प्रकारको कार्यक्रमले लेखक, कवि तथा सिर्जनात्मक लेखनमा रूचि राख्ने जो कोहीका लागि फलदायी हुने बताउनुभयो ।
यस कार्यशालामा अमाल चटर्जी र नवीन के. क्षेत्रीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा आख्यानमा कसरी मूल तत्त्वहरू बनाइन्छ, चरित्र, तिनको आवाज, दृष्टिकोण, संवाद तथा प्लटमाथि काम गर्नुपर्छ भन्नेबारे सिकाइनेछ ।
दुई दिन र एक रातको यो प्रशिक्षणमा प्रशिक्षकहरूले विविध किसिमका अभ्यासहरूसमेत गराउनु हुनेछ ।
प्रशिक्षकका रूपमा आउनुहुने अमाल चटर्जीका आख्यान तथा इतिहासका पुस्तकहरू प्रकाशित छन् । उहाँका कतिपय सिर्जनाहरूको नाट्य रूपमान्तरसमेत भएका छन् । उहाँको उपन्यास एक्रस द लेक्स भारतको चर्चित पुरस्कार क्रसवर्ड बुक अवार्डमा छोटो सूचीमा समेत परेको थियो । उहाँ स्कटल्यान्डको क्रिएटिभ स्कटल्यान्ड अवार्डमा पर्नुभएको थियो ।
भारतीय तथा श्रीलंकाली आमाबुवाबाट जन्मनु भएका उहाँको बाल्यकाल कोलकाता र दार्जिलिङमा बितेको थियो । स्पेन र स्कटल्यान्डमा युवावस्था बिताउनु भएका उहाँ इतिहासकारसमेत हुनुहुन्छ ।
अर्का प्रशिक्षक नवीन के क्षेत्री कविको रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल स्कटल्यान्डमा हुनुहुन्छ । उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट क्रिएटिभ राइटिङमा स्नातकोत्तर गर्नुभएको छ । निबन्ध तथा कवितामा उहाँले एम.लिट. गर्नुभएको छ । उहाँले फ्रान्स, स्पेन, इटाली र स्कटल्यान्डमा रेसिडेन्स क्रिएटिभ राइटिङ चलाउँदै आउनु भएको छ ।
प्रशिक्षण बुकाहोलिक्सले सहजीकरण गर्ने बताइएको छ । यस प्रशिक्षणमा सहभागी हुनेहरूलाई मिस्ट एन्ड माउन्टेनले प्रमाणपत्र प्रदान गरिने पनि जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।