डा. दलिपकुमार मल्लद्वारा लिखित सेतो धर्तिमा सप्तरंगी फूल र रूइसे दरबार दुई पुस्तक गत शनिबार पुस १६ गते विमोचन गरियो ।
सांसद तथा समाजसेवी डा. आरजु राणा देउवाको आतिथ्य तथा शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्प पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल सरकारका गृहसचिव विनोद प्रकाश सिंह, पूर्व राजदूत तथा साहित्यकार प्रतिभा राणा, कवि सुमन वर्षा तथा समालोचक राजकुमार बानियाँ लगायतका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, सांसद आरजु देउवा राणाले शुभकामना व्यक्त गर्नुभएको थियो । कृतिमाथि राजकुमार बानियाँ र सुमन वर्षाले समीक्षा गर्नुभएको थियो ।
विमोचित दुई पुस्तकमध्ये सेतो धर्तिमा सप्तरंगी फूल द्वन्द्वले पारेको सामाजिक तथा मनोवैज्ञानिक कथा सङ्ग्रह हो । यसले १० वर्षे जनआन्दोलनको कथा र त्यसले निम्त्याएका सामाजिक पीडाहरूको यथार्थ चित्रण गरिएको छ । यस्तै रूइसे दरबार ऐतिहासिक सामाजिक उपन्यास हो ।
यसमा म्याग्दीको ओझेल परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ । उपन्यासले चौधौँ शताब्दीताका भुरे टाकुरे राजाहरूले सो क्षेत्रमा आफ्नो राज्य कसरी चलाएका थिए, राज्य चलाउँदा छिमेकी राज्यहरूसँगको सिमानाका समस्या र बढ्दो पर्वत राज्यको विस्तारले भएका राजनीतिक, कूटनीतिक सम्बन्ध छिमेकीहरूसँग कसरी स्थापित हुन्थे, आफ्नो राज्य कायम राख्न हरेक राज्यका राजा र प्रजाहरूको कस्तो पारस्परिक सम्बन्ध हुन्थ्यो भन्नेबारे मिहिन रूपमा प्रस्तुत गरिएको छ । उपन्यासले सतिप्रथा विरूद्ध पनि कसरी आवाज उठेको थियो भन्ने प्रस्ट्याएको छ ।
कार्यक्रम सञ्चालन महेश क्षितिजले गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।