बराहक्षेत्र (सुनसरी) / स्वर्णिम साहित्य समाजले सुनसरीको बराहक्षेत्र नगरपालिकाभरि रहेका विद्यालयहरुबाट नव लेखन प्रतिभा खोज्ने उद्देश्यका साथ “स्कुलमा कविता” आयोजना गर्ने भएको छ ।

समाजले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम गर्ने जनाएको हो ।

बराहक्षेत्र नगरपालिकाभित्र रहेका माध्यमिक तहका विद्यार्थीहरूबीच कविता प्रतियोगिता आयोजन गर्दै उत्कृष्ट चार कविलाई आकर्षक पुरस्कार प्रदान गरेर आशाका किरणहरूलाई प्रोत्साहित गर्दै लेखनमा जिम्मेवारी बोध गराउने लक्ष्यका साथ वृहत् कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साविक गाविसभरि रहेका विद्यालयहरूलाई एक दिन अडिसनका रुपमा प्रतियोयोगिताको आयोजना गरिनेछ ।

बराहक्षेत्रमै यो नौलो प्रयोग हो ।
छनोट राउण्डबाट उत्कृष्ट १० कवि र कवितालाई फाइनल राउण्डमा छनोट गरेर उत्कृष्ट ४ कवि र कवितालाई विशेष पुरस्कार दिइनेछ ।

फाइनलको दिन देशकै प्रतिष्ठित कवि लेखकहरूलाई बराहक्षेत्रको पावनभूमिमा निम्त्याएर उत्कृष्ट ४जना कवि प्रतिभालाई आकर्षक पुरस्कार प्रदान समेत गर्ने संस्थाका सचिव लक्ष्मण कट्वालले जानकारी दिए ।

प्रथम हुनेले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रू १० हजार पाउनेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेलाई मेडल, प्रमाण पत्रसहित जनही नगद रू २ हजार दिइनेछ ।

पहिलो चरणमा प्रत्येक साविक गा.वि.स. भरिका एक स्कुलमा कार्यक्रममा प्रतियोगिता गरिने र पहिलो चरणमा पूर्वमा कहलिएका कविको साथमा स्थानीय श्रष्टाहरूलाई निर्णायकको भूमिकामा राख्ने भएको छ। पहिलो चरणको निर्णायकका रुपमा पत्रकार सम्मेलनमै बराहक्षेत्रका स्थानीय कविहरू प्रलाह्द भट्टराई (पहरेदार),राजन इशारा र सविता फागो लिम्बूलाई घोषणा गरिएको छ।

फाइनल राउण्डमा भने देशकै प्रतिष्ठित कविहरुलाई निर्णायक मण्डल बनाउने समाजले जनाएको छ ।

सिर्जनशील उमेरका विद्यार्थीहरू साहित्य सिर्जनासँग जोडिने, आफूमा रहेको कविता लेखनलाई परिमार्जित गर्दै लेखनलाई थप मजबुत बनाउने, कविता लेखनलाई जिम्मेवारी ठान्दै आफ्नो गाउँ समाजका निम्ति जनचेतनामुखी सिर्जना गर्न सक्ने र आगामि दिनमा बराहक्षेत्रलाई सर्जकहरुको क्षेत्रको रुपमा थप परिचित गराउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको सचिब कट्वालले बताए ।

कविता प्रतिभाको खोजी गर्दै ती प्रतिभाहरुलाई थप फलाउने फुलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका सचिव कटुवलले बताए ।