काठमाडौँ, पुस १६ / डा. नवराज केसीद्वारा लिखित “शून्यको मूल्य” काठमाडौंमा आज डा. बाबुराम भट्टराई, डा. अरुणा उप्रेती, डा. रीता थापा र कलाकार सुरक्षा पन्तले सार्वजनिक गर्नुभयो । बालरोग विशेषज्ञ डा. केसीको यो पहिलो पुस्तक हो । उहाँ लामो समयदेखि आफ्नै गृह जिल्ला सुर्खेतमा कार्यरत हुनुहुन्छ । पुस्तक सृजनात्मक गैरआख्यान विधाको हो ।
पुस्तकका बारेमा बोल्दै जनश्वास्थ्यविद डा. अरुणा उप्रेतीले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रीयकोण प्रस्तुत गरेको उल्लेख गर्नुभयो । डा. उप्रेतीले शून्यको मूल्य कर्णालीको कहाली र त्यो कहालीभित्रको कहानी भएको बताउनुभयो ।
त्यस्तै अर्की वक्ता जनश्वास्थ्यविद् डा. रीता थापाले स्वास्थ्यका कुरालाई मेडिकल जार्गनमा नभनी रैथाने भाषामा भनिएकाले पुस्तकले पाठकलाई तानिरहने बताउनुभयो । पुस्तकमा भावुकतामात्र नभई वैज्ञानिक मान्यतालाई आधार बनाएकाले यो पुस्तक तथ्योन्मुख भएको उहाँको धारणा थियो । स्वास्थ्य सेवालाई स्थानिय स्तरमा सुदृढ गर्न विभिन्न कथाका माध्यमले भनिएको कुरा सबै नितिनिर्माताले बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कलाकार सुरक्षा पन्तले आफ्नो कर्णाली बसाइको अनुभव सुनाउँदै शून्यको मूल्य तथ्य र भावनाको सम्मिश्रण भएको मन छुने पुस्तक बनेको बताउनुभयो । डाक्टर केसीको कथा भन्ने शैलीले कायल पारेको बताउँदै यस पुस्तकले सर्वसाधारण पाठकदेखि नीतिनिर्माण तहका पाठकलाई पनि तान्ने उहाँको धारणा थियो । विशेष डाक्टरहरू र नेता तथा नीतिनिर्माण तहकाले नछुटाई पढ्नुपर्ने यो पुस्तकले आमाको शारीरीक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यलाई दिगो विकासका लक्ष्यको शुरुवातमा राख्नुपर्ने कुरालाई जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तक मात्र आफूले दोहोर्याएर पढ्ने गरेको बताउँदै ‘शून्यको मूल्य’ दोहोर्याएर पढेको बताउनुभयो । सृजनात्मक गैर आख्यान विधाले आफूलाई पनि यसै पुस्तकमार्फत आकर्षित गरेको उहाँको भनाइ थियो । डा. भट्टराईले शून्यको मूल्य विज्ञान र कलाको सम्मिश्रण भएर पठनीय पुस्तक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “जान्ने भएपछि आँशु झारेर नरोएको धेरै भएको थियो । यो पुस्तकले मेरो आँखाबाट कतिपटक आँशु झार्यो मैले गन्नै सकिनँ ।”
पुस्तकले संयुक्त राष्ट्रसंघको दिगो विकासको १७ लक्ष्यमा आमाको स्वास्थ्य त्योभन्दा माथि भएकाले पुस्तकले आमाहरूको स्वास्थ्य नै विकासको शुरुवात हो भन्ने कुरालाई बुझाएको बताउँदै डा. भट्टराईले यो पुस्तकको युगान्तकारी महत्त्व भएको उल्लेख गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।