टेलिभिजन दुनियाँको नयाँ कार्यक्रम द पोएट आइडलको दोस्रो भाग हिजो राति ८:३० बजे प्रसारण भयो । शुरूवातदेखि नै चर्चामा रहेको यस कार्यक्रममा दर्शकले प्रशस्त मनोरञ्जन पाए । मनोरञ्जन यस अर्थमा कि, सुन्दर कविताभन्दा पनि सुन्दर गतिविधिका कारण दर्शकहरूले भरपूर मनोरञ्जन पाए ।

आइडलमा प्रस्तुत भएका प्रतियोगीहरूमा अधिकांशतः भर्खरै लेख्न थालेका वा लेख्न रहर गर्नेहरूको बाहुल्य भएका कारण मनोहर कविताहरू भने प्रस्तुत भएको पाइएको छैन । जसका कारण पहिलो चरणमा छनोटमा परेकाहरू पनि दोस्रो चरणमा निर्णायकको रोजाइमा पर्न सकेका छैनन् ।

एपिसोड सुरु हुन्छ चितवनका कवि नवराज ढकालबाट । तर अनि दोस्रो चरणमा छनोट हुन सक्दैनन् ।

अचानक एउटा नाट्य कविता लिएर मञ्च प्रवेश गर्छन् कवि निराजन मौद्गल्य । उनले मानिस र चरा नामक शीर्षकको कविता नाट्य शैलीमा भुइँमा लडीबुडी खेल्दै अनेक थरीका हाउभाउ गर्दै वाचन गर्छन् ।

प्रस्तुतिको समाप्तिसँगै निर्णायक विप्लप प्रतीक भन्छन्, ‘तपाईँको प्रस्तुति मात्रै राम्रो भयो । काव्यमा खासै आनन्द आएन । तपाईँको प्रस्तुतिले मलाई कुनै सन्तुष्टि दिएन ।’ तैपनि दोस्रो चरणमा केही राम्रो गर्नुहुन्छ कि भन्ने आशासहित म तपाईँको लागि घण्टी बजाइदिन्छु ।

उनको प्रस्तुतिबाट खासै आनन्द नआएको भनी अर्का निर्णायक उपेन्द्र सुब्बाले भने, तपाईँलाई दोस्रो चरणमा लान नसकेकोमा माफी माग्छु ।

उनको प्रस्तुति चारैजना निर्णायकहरूलाई खासै मन परेन । तै पनि अर्को पटक राम्रो गर्छन् कि भन्ने आशासहित अरु तीन निर्णायकले उनलाई दोस्रो चरणका लागि छनोट गरेका छन् ।

शिक्षक रमेश भट्टराईको छन्द कविता सुनेपछि उपेन्द्र सुब्बा ढिला नगरी सोध्छन्, ‘तपाईँ कविता कत्तिको पढ्नुहुन्छ ?’

‘खासै पढेको छैन, विद्यार्थीलाई पढाउँदा कोर्सका कविता मात्रै पढेको छु,’ भट्टराईको जवाफ थियो ।

‘छन्द कविता लेख्नुहुन्छ तर माधव घिमिरे लगायतका कविता पढेको छैन भन्नुहुन्छ । अब यसो गर्नुहोस्, छन्द कविता लेख्नुभन्दा अघि बीस ओटा गीत लेख्नुस्, अनि मात्र कविता लेख्न सुरु गर्नुहोला,’ सुब्बाले प्रतियोगी भट्टराईलाई मज्जैले व्यंग्य गर्छन् ।

भट्टराईको अघिल्लो चरणको यात्रा यहीँ रोकिन्छ ।

त्यसपछि म काग भए शीर्षकको कविता लिएर होटल व्यवसायी महेन्द्र राई मञ्चमा प्रवेश गर्छन् । उनी दोस्रो चरणमा प्रवेश मात्र हैन पर्फमर अफ द डे पनि बन्छन् ।

महेन्द्र राई

उनी भन्छन्, ‘चार कक्षा पढ्दादेखि नै मैले कविता लेख्न सुरु गरेको हुँ । मैले कविता लेख्नुमा मेरी दिदीको धेरै ठूलो प्रेरणा छ । यदि कविता लेखेरै बाँच्न सकिने भए म अहिले मम बेचेर बस्दिनथेँ। मैले पोएट आइडल नजिते पनि छनोट हुनु नै आइडल जितेसरह हो ।’

भाइ दोस्रो चरणमा छनोट भएपछि दिदी पनि खुसी देखिन्छिन् । भाइको प्रस्तुति हेर्न उनले अफिस नै बिदा लिएर त्यहीँ आएकी थिइन् ।

सरस्वती राईले अङ्ग्रेजी भाषामा कविता सुनाउँछिन् । यो कविता सुनेपछि कवि तथा निर्णायक विप्लव प्रतीकले सोधे, ‘नेपालीमा लेख्न आउँदैन ?’

प्रतियोगी राईको जवाफ थियो, ‘आउँदैन ।’

यसपछि उनको अघिल्लो चरणको यात्रा यहीँ समाप्त हुन्छ ।

सुनसरीबाट आएकी कवि छबिना लुङ्गेली मगरले माहोल केही रमाइलो बनाइदिन्छिन् । उनको प्रस्तुतिमा चारै जना निर्णायकहरूले निर्विवाद घण्टी बजाउँछन् ।

सजिलै दोस्रो चरणमा प्रवेश गरेपछि घरमा आमालाई फोन गरेर आफू दोस्रो चरणमा प्रवेश गरेको खबर सुनाउँछिन्।

दिपिन सिजापतिले छन्द कविता सुनाउँछन् । उनी कविताबाट नै कसैलाई श्राप दिन्छन् । उनको प्रस्तुति सकिएपछि विप्लप प्रतीक भन्छन्, ‘कविले विष पिएर अमृत ओकल्छन् । श्राप चाहिँ दिँदैनन् । तपाईँले त श्राप नै दिनुभयो । त्यसैले म तपाईँलाई दोस्रो चरणका लागि घण्टी बजाउन सकिनँ ।’

सायद कविले कोही कसैलाई श्राप दिएको यो नै पहिलो प्रस्तुति होला ।

अन्त्यमा किमोथेरापी गरिरहेका कवि नवराज न्यौपाने मञ्चमा प्रवेश गर्छन् ।

नवराज न्यौपाने

कविता सुनाउनुअघि उनी भन्छन्, ‘शारीरिक रूपमा म धेरै अस्वस्थ छु । भावनात्मक ऊर्जाको कारण मात्र म यहाँ आउन सकेको हुँ । कविता त विद्यार्थी जीवनदेखि नै लेख्न थालेको थिएँ । विपन्नताको कारण पढाइ पनि अघि बढाउन सकिनँ ।’

उनको प्रस्तुतिले चारैजना निर्णायक भावुक हुन्छन् । उनका लागि चारै ओटा घण्टी बज्छ । आफू दोस्रो चरणमा प्रवेश गरेपछि खुसी हुँदै उनी फेरि भन्छन्, ‘शारीरिक अस्वस्थ भएकै कारण मलाई प्रेमिकाले छोडेर गई । अस्पताल बसाइमा किमोथेरापी गर्दा गर्दै मलाई एउटी नर्स मन पर्न थाल्यो । उनलाई मनको कुरा भन्न नसकेर मैले यो कविता रचेको हुँ ।’

उनको कविता सँगै शुक्रबारको द पोएट आइडलको दोस्रो भाग पनि समाप्त भएको छ ।

सम्पादन केही खुकुलो भएकाले इमोसन क्याप्चर भए पनि इन्टेन्सिटी बढाउन सकिएको छैन । यसमा ध्यान दिन सके, यो रियालिटी सो अझ सशक्त बन्न सक्ने देखिन्छ । तर यसको युट्युब भ्युज भने रेकर्ड ब्रेकिङ भइरहेको छ । प्रतिक्रिया पनि निकै राम्रो आइरहेको छ ।