डि जि शर्मा
युएई
लामो समयको प्रयासपछि कवि तथा पत्रकार राजेन्द्र तारकिणीको कानको शल्यक्रिया सोमबार सम्पन्न भएको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उहाँको शल्यक्रिया गरिएको हो ।
अस्पतालका नाक कान तथा घाँटी रोग विशेषज्ञ प्रा. डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले करिब साढे पाँच घण्टा लगाएर शल्यक्रिया गरेको थियो । बैतडी स्थायी घर भएका कवि/पत्रकार तारकिणी विगत १६ वर्षदेखि पूर्णरुपमा कान सुन्न नसक्ने अवस्थामा हुनुहुन्छ ।
१५ वर्षकै उमेरमा हाँडे रोगका कारण उहाँको दुबै कानको श्रवणशक्ति गुमेको थियो । हाँडे रोगको संक्रमणबाट उहाँको दुबै गाला (कानको जरामुनी) सुन्निएको र त्यसैको असरले श्रवणशक्ति गुमेको थियो । यो २०६३ साल कात्तिकको घटना थियो ।
सोमबारको शल्यक्रियामार्फत कानको भित्रि भागमा मेसिन (कक्लियर इम्प्लान्ट मेसिन) जडान गर्ने काम सम्पन भएको छ ।जसले कानको भित्री भागलाई सुन्ने प्रक्रियाका लागि सक्रिय बनाउने गर्दछ । अपरेसन पश्चात् एक हप्तासम्म अस्पतालमै आराम गर्नु पर्ने अस्पतालले जनाएको छ । एक महिनाको आराम पश्चात् (घाउ पूर्ण रुपमा निको भएपछि) पुन: अर्को मेसिन (स्विच अन गर्ने) कानको बाहिरी भागमा जडान गर्नु पर्ने बताइएको छ ।
दुबै मेसिन जडान गरिसकेपछि ६ महिनासम्म नियमित रुपमा सुनाइ तालिम लिनु पर्ने हुन्छ । नियमित सुनाइ तालिमपछि मात्रै कानको श्रवणशक्ति फिर्ता हुने/नहुने भन्ने बारेमा थाहा हुने अस्पताललाई उध्रित गर्दै पारिवारिक स्रोतले जानकारी गराएको छ । कानको बाहिरी र भित्री भागमा जडान हुने मेसिन (कक्लियर ईम्प्लान्ट) को मूल्य मात्र १७ लाख पर्न गएको बताइएको छ । यसदेखि बाहेक खोप लगाउन, शल्यक्रिया शुल्क, औषधि, म्यापिङ, सुनाइ तालिम लगायत गरि दुई लाख रुपैयाँ भन्दा बेसी लाग्ने जनाइएको छ । यस बाहेक पनि जडान गरिएको मेसिनको वार्षिक रुपमा मर्मत सम्भार गरिरहनु पर्ने हुन्छ । जसका लागि वार्षिक कम्तिमा ५० हजार रुपैयाँ अतिरिक्त खर्च लाग्नेछ । यस किसिमको कक्लियर ईम्प्लान्ट सर्जरी नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै हुँदै आएको छ ।
अस्पताल स्रोतका अनुसार कक्लियर ईम्प्लान्ट शल्यक्रिया विगत चार दशकदेखि चलन चल्तिमा छ । त्यतिबेला भित्र जडान गरिएका मेसिनले हालसम्म काम गरिरहेको भए पनि मेसिन उत्पादन कम्पनीको तर्फबाट भने १० वर्षको मात्र वारेन्टी दिइएको हुन्छ । बाहिरी भागमा जडान गरिने मेसिनको हकमा भने तीन वर्षको मात्र वारेन्टी दिइएको हुन्छ । बिना कुनै चोट-पटक ईम्प्लान्ट मेसिन बिग्रेको खण्डमा निशुल्क अर्को ईम्प्लान्ट मेसिन उपलब्ध गराउने व्यवस्था पनि कम्पनीले गरेको छ ।
को हुन कवि/पत्रकार तारकिणी ?
बैतडीको हालको पुरचौँडी नगरपालिका-३ नाकाली गाउँमा जन्मनु भएका कवि/पत्रकार लामो समयदेखि काठमाडौँमा बसेर साहित्य लेखनसँग पत्रकारितामा सक्रिय हुनुहुन्छ । आफ्नो साहित्य लेखनको छोटो समयमै उहाँका चार ओटा साहित्यिक र अन्य दुई गैर-साहित्यिक कृति प्रकाशित छन । हालसालै उहाँको कविता सङ्ग्रह “बिगन रामको मादल” बजार आइसकेको छ । कविता, निबन्ध, कथा, मुक्तक, गजल र बाल साहित्यमा उहाँको कलम चल्दै आएको छ ।
साहित्य लेखनका अलवा उहाँ चित्रकलामा पनि उत्तिकै रुची राख्नुहुन्छ । उहाँका चित्रहरु नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य समूहमा सामूहिक प्रदर्शनी हुँदै आएका छन । यसका साथै उहाँले पुस्तकहरुको आवरण चित्र र डिजाइन पनि गर्दै आउनु भएको छ । पछिल्लो तीन वर्ष यता उहाँ न्युज २४ मा आवद्ध रहेर पत्रकारितालाई अगाडि बढाइ रहनु भएको छ ।
“सम्पादन हाउस” मार्फत उहाँले साहित्यिक कृतिहरुको सम्पादन कार्य समेत गर्दै आउनु भएको छ । साथै साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब चानलमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता स्रष्टा र सिर्जना” को उहाँ भाषा सम्पादक हुनुहुन्छ ।
(उपचारार्थ सहयोह अभियान)
सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” को गत बैशाख ०३ गते १०३ औँ शृङ्खलामा कवि/पत्रकार तारकिणीसँग अन्तरवार्ता लिइएको थियो । राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघ नेपालका अध्यक्ष दिनेश श्रेष्ठको सहयोगमा कवि/पत्रकार तारकिणीसँग कुराकानी गरिएको थियो । कार्यक्रममा कुराकानी गरिएसँगै उहाँको कान नसुन्ने समस्या सार्वजनिक भएको थियो । यसअघि आफन्त र सिमित साथीभाइ मात्र उहाँको यस समस्या बारे जानकार थिए । कार्यक्रममार्फत समस्या सार्वजनिक भएसँगै देश विदेशबाट उहाँको उपचारका लागि सहयोग गर्ने प्रस्ताव आउन थाल्यो ।
यसैलाई मध्यनजर गर्दै प्रतिष्ठानले तत्कालीन अध्यक्ष जीवित खड्का मगरको नेतृत्वमा विश्वव्यापी रुपमा आर्थिक सहयोग संकलन अभियान सुरु गरेको थियो । लामो समयसम्म चलेको अभियानमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट गरि १३ लाख ५४ हजार ९ सय ४५ रुपैयाँ बराबरको बोलकबोल प्राप्त भएको संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले बताउनु भयो । यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुप्रति उहाँ आभार पनि प्रकट गर्नुहुन्छ । फेसबुकबाट सञ्चालन हुँदै आएको कार्यक्रम र त्यसपछि गरिएको अपिलमार्फत यस किसिमको सहयोग जुट्नु नेपाली साहित्य जगतकै लागि एउटा उदाहाणीय कार्य भएको संयोजक खड्काको भनाइ छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।