कालेबुङ / नेपाली साहित्य अध्ययन समिति कालेबुङको आयोजनामा सोमबार ९६ औं अगमसिंह गिरी जयन्ती भव्यसँग सम्पन्न भयो।
समितिका उपाध्यक्ष जोग चाम्लिङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समितिका मुख्य संरक्षक प्रा कुमार क्षेत्री, दीपा रानी ठकुरी, सरोजा राई, वार्ताकार हेमकान्त भन्डारी रहेका थिए भने सञ्चालन भने समितिका सचिव बलभद्र शर्माले गरेका थिए।
यस कार्यक्रममा अगमसिंह गिरीका कवित्वको विभिन्न पक्षबारे वार्ताकार हेमकान्त भण्डारीले सारगर्भित वक्तव्य प्रस्तुत गरे।
कार्यक्रममा पाँचजना नारी कविहरू मदना ओझा, अन्जना राई, लीला जोशी, प्रतिभा कुमाई, कमला थापा र कवि विशाल राईले कविता पाठ गरेका थिए। कार्यक्रममा ज्ञान सुतारको सिला नामको समीक्षाको पुस्तक र ईन्द्रबहादुर छेत्रीको सम्पादनमा रहेको रहेको साहित्य अकादमी नयाँ दिल्लीको प्रकाशकत्वमा रहेको रामकृष्ण शर्मा रचना सञ्चय ग्रन्थको लोकार्पण भए।
यी दुवै पुस्तकको सारगर्भित समीक्षात्मक टिप्पणी वार्ता प्रस्तुत गरियो। नेपाली साहित्यको निम्ति यी दुवै पुस्तक महत्त्वपूर्ण रहेको समीक्षकहरूले बताए ।
आफ्नो पुस्तकबारे ज्ञान सुतारले पनि कृति चर्चाको कमी रहेको र हुटहुटी लागेर आफूले समीक्षामा हात हालेको बताए ।
कार्यक्रममा दीपारानी ठकुरी र डा सरोजा राईलाई संरक्षकको रुपमा सम्मानित गरियो। कार्यक्रममा ठकुरीले आफ्नो वक्तव्यमा नेपाली साहित्यमा पुस्तक बिक्रीबारे चिन्ता व्यक्त गरिन्। कार्यक्रमलाई सभापति जोग चामलिङले पनि सम्वोधन गरेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

