बेलबारी / मोरङ जिल्लाको बेलबारीमा रहेको बेलबारी प्रज्ञा–प्रतिष्ठानले बेलबारीको भाषा तथा साहित्यको वर्तमान स्थिति विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गत शुक्रबार बेलबारी १ स्थित नगरपालिकाको धनपालगढी सभाहलमा प्रतिष्ठानले बेलबारीस्थित विभिन्न १४ जातीय संस्थाहरूको उपस्थितिमा भाषा तथा साहित्यको वर्तमान स्थिति विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बेलबारी नगरका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाको प्रमु्ख आतिथ्यमा भएको यस कार्यक्रममा किराँत याक्थुम चुम्लुङ, तमु धोद छि, नेपाल तामाङ धेदुङ संघ, किराँत राई यायोख्खा, भुजेल सेवा समाज, उराव झाँगड उत्थान संघ, राजवंशी सेवा समाज, खवास सेवा समाज, थारु कल्याणकारी समाज, मुडियारी उत्थान सेव समाज, किराँत याख्खा छुम्मा, मगर संघ, सन्थाल मुर्मु सेवा समाज, प्रथम धिमाल जातिय उत्थान संघ, गरी १४ जातीय संस्थाहरूको उपस्थिति रहेको थियो । सबै जातीय संस्थाहरूले विगतमा राज्यको विभेदपूर्ण नीतिका कारण राष्ट्रको अमूल्य निधिका रुपमा रहेको विभिन्न भाषा, संस्कृतिहरू लोप हुँदै गइरहेकाले यसको जगेर्ना गर्नु राज्यको कर्तव्य रहेको बताए ।
ढिलै भए पनि बेलबारी प्रज्ञा प्रष्ठिानले बेलबारीको भाषा तथा साहित्यको बारेमा यो अन्तरक्रिया कार्यक्रम गरेकामा मगर संघ बेलबारी नगरका अध्यक्ष केशव मगरले धन्यवाद दिए । उराव सेवा समाजका केन्द्रीय सदस्य तथा भाषाविद् रामकिशन उरावले नेपालको एकमात्र द्रविड भाषाभित्र पर्ने उराव भाषा लोप भए नेपालको भाषा लङ्गडो हु्ने तर्क प्रस्तुत गरे ।
संस्कृतीकर्मी ईरन राईले नेपालमा तीन प्रकारको भाषा रहेको बताउँदै एक बोलिने तर नलेखिने, अर्को लेखिने तर नबोलिने र तेस्रो बोलिने र लेखिने । यी भाषाको विकासका लागि स्थानीय स्तरबाट भए पनि बेलबारी प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको छ र यो सकारात्मक कदम भएको बताए । विशिष्ट अतिथि बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला गौतमले भाषिक पाठ्यक्रमका लागि सोही भाषिक व्यक्तिहरूको मुख्य भूमिका हुने बताए ।
कार्यक्रममा नेपाल आदिवासी महासंघका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा मात्र आदिवासीहरुको भाषिक, साँस्कृतिक विकास सम्भव हुने भएता पनि बेलबारी प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको सकारात्मक कदमको प्रशंसा गरे ।
कार्यक्रम बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव कुलप्रसाद बरालले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।