काठमाडौँ, पुस ९ / यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरी मासिक रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा तल्लिन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा लीलाध्वज स्रष्टा सम्मानले सम्मानित‌ गरिएको हो ।

उक्त कार्यक्रममा अग्रज साहित्यकार ठाकुर शर्मा भण्डारीले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित भएका साहित्यकार डा. नेपालको विषयमा संक्षिप्त प्रकाश पार्नुका साथै साहित्य कलाको माध्यमबाट जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् ।

सम्मानित स्रष्टा डा. नेपालले लीलाध्वज थापाले नेपाली साहित्यका क्षेत्रमा उपन्यास, नाटक, हांस्यव्यङ्ग्य, कविता आदि लेख्नुका साथै उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएकाले नै आम पाठकहरूमा चर्चित हुनुका साथै समाजमा ब्याप्त विकृति विसंगतिलाई नङ्ग्याउन सफल रहेकाले नेपाली साहित्यमा विशिष्ट पहिचान बनाउन सफल भएको बताएका छन् ।

लीलाध्वज थापाका उपन्यासका कथावस्तु महिला हिंसाविरुद्ध उभिनुका साथै विकृत समाजका कार्यहरूमा प्रहार गरिएको मन उपन्यासले २०१४ सालमा नै प्रथम पटक मदन पुरस्कार प्राप्त गरेको थियो । त्यस्ता साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको बताउँदै अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाको नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान रहेको बताएका छन् । सोही कार्यक्रममा श्रष्टा कुसुम शर्माद्वारा लिखित पुस्तक “कुसुमाञ्जली” समेत लोकार्पण गरिएको थियो ।

साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धरद्वारा उक्त कृतिका बारेमा समीक्षा गरिएको थियो। समीक्षात्मक टिप्पणीका क्रममा प्राज्ञ मानन्धरले ‘’कुसुमाञ्जली‘’ प्रकृति र मानिस बीचको सम्बन्धमा कलात्मक बिम्बको प्रयोगका माध्यमले मानवीय समवेदना प्रस्तुत गर्ने शिल्पीगत विशिष्टता रहेको औंल्याउँदै स्रष्टा कुसुम शर्माले जीवन र जगत्प्रतिको सुन्दर पक्षका बारेमा उनको लेखन शिल्पको प्रशंसा गरिएको थियो ।

कार्यक्रममा सम्मानित साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, मुकुन्द न्यौपाने, रत्न विरही घिमिरे, कुमार नेपाल, विजयध्वज थापा, राजेन्द्र खनाल, रुद्र अधिकारी, उत्तम विचार, कुशुम शर्मा, सुन्दरबहादुर खडका, लव खड्का, भुवन शिवाकोटी चौघरे, ठाकुर शर्मा भण्डारी, सुरेश बैद्य, महेशप्रसाद रिजाल, निर्मल पराजुली, कृष्णदेव रिमाल, राधा कार्की, ममता मृदुल, सुशीला ढकाल अधिकारी, प्रकाश बस्नेत गफाडी, दिव्य गिरी, उर्मिला पन्त पाण्डेय, रुवी सत्याल, जयराम बिडारी, तारा केसी, उमेश पाण्डे लगायत ४१ जना कविहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रममा स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुका साथै सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्दै, साहित्यकारहरू स्रष्टा र द्रष्टा दुवै हुने भएकाले समाजको यथार्थ चित्रणमा उनीहरूको विशिष्ट योगदान रहने कुरा औल्याउँदै विमोचित कृतिका सर्जक कुशुम शर्मालाई बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै वाचन गरिएका सबै रचना सबै खाले गुणले भरिपूर्ण रहेकाले सृजनाले अमरत्व प्राप्त गर्ने विचार ब्यक्त गरेका छन् ।