हामीले कसैको जीवनमा केही न केही सकारात्मक प्रभाव पार्न सक्छौं भन्ने डा. भगवान् कोइरालालाई लाग्छ । ‘कहिलेकाहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं बिरामीको हँसिलो अनुहार देख्न पाउँदा भने काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो,’ उनी भन्छन् । नेपाल लिटरेचर फेस्टिभलमा उनी आफ्ना धारणा राख्दै थिए ।

उनी कसरी चिकित्सक बने त ? ‘संस्कृतिमा मेरो असाध्यै राम्रो थियो,’ उनले भने, ‘भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स बायोलोजीमा राम्रो भएकाले म त्यतातिर लागे । पुस्तकमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।’

एउटा पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । तर त्यो देशका लागि चाहिएको विषय हो । यसको महत्त्वपूर्ण स्टेप चाहिँ यो हुन सक्छ । ज्ञानलाई प्रयोग गरेको हो । यसका लागि प्रकाशकले सित्तैमा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो ।’

सरकारले यस्ता खालका अस्पतला खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ? भन्ने प्रश्नमा उनले भने, ‘बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं ।’

‘२०/२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । त्यसबेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ साबित भयो,’ उनले भने ।

उनी भन्छन्, ‘त्यसैले महसुसलाई गाइड गर्दिने काम पनि विज्ञहरूकै हो । यसमा हामी सबै जिम्मेवारी हुनुपर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दीर्घकालीन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ तर यसको नेतृत्व गर्ने काम गैरसरकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु ।’

स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो पोखरासँग पुर्खौली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यहीँ अस्पताल खोल्ने भनेर योजना बनाएका थियौं । ठाउँ खाली नभएकाले काम अलि ढिला भयो ।’

मुटु रोग लाग्यो भने मान्छे गंगालाल अस्पताल जान्छन्, निजी अस्पतालमा जाँदैनन् । यो अस्पतालले जुन विश्वासनीयता हासिल गर्यो, सर्वसाधारण नेपालीहरूले उपचार गर्न मिल्ने नमूना बन्यो । कुन तत्त्वले गर्दा सफल भएको ठान्नुहुन्छ भन्ने प्रश्नमा डा. कोइरालाले भने, ‘यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरू छन् । लिडरसिप नै यसको लागि बढी महत्त्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रुपमा हेर्दा पनि लिडरसिपबाट धेरै कुराहरू गाइड हुन सक्छन् । चाहनाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्यो भने धेरै कुरा मिलेर आउने रहेछ ।
अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नुपर्छ । मूलभूत रुपमा अस्पताल बिरामी र बिरामीका आफन्तप्रति कति संवेदनशील छन् भन्ने कुराको अनुभूति बिरामीलाई भयो भने वा बिरामीका मान्छेलाई भयो भने आक्रामक हुँदैनन् । बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो । तर कतिपय अवस्थामा सामना पनि गर्नुपर्छ । सबैभन्दा बढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयघात भएर पनि बिरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफैँ पनि फँसेको छु ।’

पछिल्लो समय चिकित्सकहरू बिरामीका आफन्तबाट आक्रमणमा पर्ने घटनाप्रतिको प्रश्नमा डा. कोइरालाले भने, ‘अपरेसनपछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घटना हुँदैन तर बिरामीप्रति कमिटेड हुने, बिरामीलाई दिलो ज्यान दिने बिरामीका आफन्तले देख्नुपर्छ । सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दागर्दै पनि हुँदैन । विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन । बिरामीका परिवारले चिकित्सकले इमान्दार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरू न्युनीकरण हुन्छ ।’