काठमाडौँ/नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने कविता महोत्सव यस वर्ष केही समयका लागि स्थगन गरिएको प्रतिष्ठानले जनाएको छ।
हरेक वर्ष असार ९ गते कविता दिवसको अवसर पारेर प्रतियोगिता आयोजन गर्दै सर्वोत्कृष्ट कविता छनोट गरिरहेको प्रतिष्ठानले कोविद १९ रोगका कारण सिर्जित असहज अवस्थालाई मध्यनजर गर्दै कविताको परिणामलाई केही समय पछाडि धकेलेको हो।
प्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेलले कविता महोत्सवलाई महोत्सवका रुपमा नै मनाउने उद्देश्यका साथ केही समयका लागि स्थगन गरिएको बताए।
केही आलोचकहरुले भने अहिलेको प्रविधिको जमानामा मान्छे भेला गरेर गर्नुभन्दा प्रविधिकै सहयोग लिँदा उपयुक्त हुने धारणा फेसबुकतिर राखेका छन्।
‘कविता भनेको वाचन पनि हो र जूम वाचन त्यति प्रभावकारी देखिएको छैन,’ पौडेलले प्रविधिको अप्ठेरो खुलाउँदै भने, ‘कहिले इन्टरनेटले धोका दिने, बेलाबेलामा डिसकनेक्ट हुनेजस्ता समय हामीले देखिरहेका छौँ। भोलि जूममा कार्यक्रम भयो भने पनि प्रभावकारी भएन भनेर आलोचना हुन्छ। त्यसैले हामीले प्रत्यक्ष वाचनलाई बढी महत्त्व दिन खोजेका हौँ।’
त्यसो त उनले बन्दाबन्दी अझै लम्बिए, त्यो पनि एउटा विकल्प हुने बताए। उनले भने, ‘तर कविता भनेको वाचन पनि हो, त्यो वाचन प्रभावशाली नहोला भन्ने डरका कारण प्रविधिमा भर नपरेका हौँ।’
गएको वर्षदेखि कविता महोत्सवमा लोकसेवा आयोगजस्तै कवितालाई नम्बर दिने शैली अपनाएर पौडेल चर्चामा आएका हुन्। लामो समयदेखि कविता महोत्सवमा धाँधली भयो भन्ने आवाज सुन्दै आएका पौडेलले उनी कविता विभाग प्रमुख भएयता यही नियम बसालेका छन्।
गएको जेठ २५ सम्म आएका कवितालाई यतिबेला लाहाछाप लगाएर मूल्याङ्कनका लागि राखिएको र वाचनपछि वाचन र लेखन दुवैको नम्बर जोडी सर्वोत्कृष्ट कविता चयन गर्ने परिपाटी मिलाइएको पौडेलले बताए।
‘पहिलेको मेरो अनुभव के रह्यो भने, कविता त जसले पनि लेखिदिन्छ,’ उनले यसो गर्नुको कारण खुलाउँदै भने, ‘अरूका लागि कविता लेखिदिने, अरूका कविता ल्याएर पुरस्कृत हुने कुरा पनि नसुनिएको होइन। वाचनले भने वास्तविक सर्जकको भावना प्रतिबिम्बित हुन्छ भन्ने मान्यताका साथ यस्तो नियम हामीले राखेका हौँ।’
विवाद कम हुने अपेक्षा
त्यसो त कविता महोत्सव सधैँ विवादमा पर्ने गरेको छ। यो नयाँ नियमपछि त्यस्तो विवाद कम होला भन्ने अपेक्षा पौडेलको छ। पोहोर पनि कवितालाई लोकसेवा आयोगजस्तो बनाइएको भन्दै आलोचना नभएको भने होइन।
पूर्व प्राज्ञ अमर गिरीले पनि आफ्नो कार्यकालमा कविता महोत्सवलाई विवादमा पारिएको अनुभव गरे। अहिले कविता महोत्सव स्थगनलाई विवादमा पारिनुलाई भने उनले उचित देखेका छैनन्। उनी भन्छन्, ‘पहिले पनि अवस्था खराब हुँदा महोत्सव रोकिएको हो, अहिले पनि कोविद १९ रोगका कारण केही समय स्थगन भएकोलाई हामीले अन्यथा लिनु हुँदैन।’
केही मानिसहरु प्रतिष्ठानले जे गरे पनि विवादमा ल्याउने गरेको उनले देखेका छन्। गिरी भन्छन्, ‘जसले एकेडेमीका कुराहरुलाई विवादमा ल्याउन खोज्नु हुन्छ, वास्तवमा उहाँहरुले नबुझी यस्ता कुरा गर्नुहुन्छ भन्ने लाग्छ।’
कुनै खास रुचिबाट निर्देशित व्यक्तिहरूबाट विवाद झिक्ने गरेको गिरीको बुझाइ छ। ‘त्यस्तो विवाद चलाउने वा टिप्पणी गर्नेहरुमा कविता महोत्सवमा सहभागी भएका वा सहभागीसँग जोडिएका नै बढी देखेको छु,’ गिरी भन्छन्, ‘कतिपयमा एकेडेमीप्रति ज्यादै नकारात्मक सोच पनि पाएको छु। उहाँहरुले वास्तविकता नबुझी टिप्पणी गर्ने गरेको पनि पाएको छु।’
त्यसो त कतिपय कुरा ‘जेनुइन’ पनि आउने गरेको गिरीले बताए। कतिपय अवस्थामा परिणाम पहिल्यै बाहिर आएको कुरामा उनको सहमति छ। संस्थाबाट कमजोरी भएपछि आएका टिप्पणीलाई उनले सकारात्मक लिनुपर्ने र ती कुरा सच्याउनुपर्ने गिरीको धारणा छ। यता पाैडेल भने यही कुरा सच्याउन पोहोरसालबाट नयाँ नियम बसालिएको बताउँँछन्।
यत्तिका वर्षपछि पनि एकेडेमी अब कविता प्रतियोगितामा नै अल्झन नहुने गिरीको निजी धारणा छ। गिरी भन्छन्, ‘एकेडेमी त अनुसन्धान गर्ने संस्था हो, त्यसमा जोड दिनुपर्छ। प्रतियोगितामै नअल्झिए ठीक जस्तो लाग्छ।’
तर उनले जोड दिँदै भने, ‘कविता प्रतियोगितामा लगाइने पार्टीगत कुरा हावि हुने, कमजोर कविता पुरस्कृत गरिने कुरामा भने मलाई त्यत्ति धेरै विश्वास लाग्दैन। यो आरोपका लागि मात्र आरोप लगाइने गरेको मैले पाएको छु।’
को हुन् काव्य प्रमुख पौडेल?
यतिबेला कविता प्रतियोगिताको मुख्य बागडोर सम्हालिरहेका प्राज्ञ हेमनाथ पौडेल मूलतः समालोचक हुन्। उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा कविताको प्राध्यापन गर्छन्। कवितामा नै पिएचडी गरेका पौडेलका आधा दर्जन समालोचनाकै किताब छन्। फाट्टफुट्ट
कविता लेख्ने भए पनि उनको चिनारी कविका रुपमा भन्दा समालोचकका रुपमा सशक्त छ।
कति कविता सहभागी?
यस पटकको महोत्सवमा पाँच सयभन्दा बढी कविता प्रतियोगितामा सामेल गरिएका छन्। गएको जेठ २५ गतेसम्म आइपुगेका कवितालाई प्रतियोगितामा सामेल गरिएको हो। नियम नपुगी आएका कवितालाई प्रतियोगितामा समावेश नगरिएको पौडेल बताउँछन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।