नेपाली समालोचनाकाे इतिहासमा विगत ६ वर्षदेखिको श्रम, साधना र समर्पणबाट सर्वाधिक बृहत् ग्रन्थ “रत्न बृहत् नेपाली समालोचना” ( भाग -३, सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायाेगिक खण्ड) काे प्रकाशन भएको छ ।
प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गाैतमकाे सम्पादक रहेकाे याे ग्रन्थ रत्न पुस्तक भण्डार, काठमाडौंले प्रकाशित गरेको हाे । अघिल्ला दुई खण्डहरू अग्रपृष्ठसहित A 4 आकारमा क्रमशः ६४८ र ५४४ पृष्ठ रहेकामा याे तेस्रो खण्ड ७५४ पृष्ठ रहेको देखिन्छ ।
समालोचनाकाे सामूहिक सङ्कलन- सम्पादनमा यसलाई बृहत् आकारको ग्रन्थ मानिन्छ ।
अघिल्लो र पछिल्लो पुस्ताका गरी चाैँतीसजना समालोचकहरूका एकएक समालोचना यसमा समावेश गरिएको र खण्ड एक र दुईमा नपरेका समालोचकलाई यसमा समावेश गरिएको कुरा यसका सम्पादक प्रा.डा. लक्ष्मणप्रसाद गाैतमले बताउनुभयो ।
यस ग्रन्थमा नवीन साैन्दर्यचिन्तन, पूर्वीय साहित्य र दर्शनको पुनर्व्याख्या, अन्तर्विषयक अध्ययन, स्फाेटवाद, विनिर्माणवाद, डायस्पाेरा, विधाविघटन, नवमनाेविश्लेषण, भाैगाेलिक समालोचन, साइबर समालोचना, अधिआख्यान, कुसङ्केतनता, अपाङ्गता, सीमान्तीयता, पर्यावरण, समाजशास्त्रीय, सांस्कृतिक र लैङ्गिक अध्ययन, लाेकसाहित्य अध्ययनका विभिन्न पद्धति, रङ्गशिल्प, नाट्यायन, पाठालाेचन, पाठनिर्माणका युक्ति, अलङ्कार र फिगर अफ स्पिच, साहित्येतिहास लेखनका प्रतिमान, स्वैरकल्पना, आनुभविकता विश्लेषणलगायतका नवीन सिद्धान्तहरू मात्र यस ग्रन्थमा रहेकाले यसकाे ठूलो प्राज्ञिक महत्त्व रहेको कुरा सम्पादक गाैतमले बताउनुभयो ।
यति बृहत् आकारको ग्रन्थ प्रकाशन गर्ने आँटका सन्दर्भमा कुरा गर्दा रत्न पुस्तक भण्डारका प्रबन्धनिर्देशक गाेविन्दप्रसाद श्रेष्ठले याे यस प्रकाशनकाे बृहत् प्राज्ञिक एवम् बाैद्धिक परियोजनाकाे निरन्तरता भएको र नाफाका दृष्टिले भन्दा पनि प्राज्ञिक र बाैद्धिक महत्त्वका दृष्टिले प्रकाशन गरेको बताउनुभयो । साथै उहाँले यस ग्रन्थका सामग्री प्रा. राजेन्द्र सुवेदी जीवित छँदै तयार भए पनि काेराेना र विभिन्न प्राविधिक कारणवश अहिले ग्रन्थ प्रकाशन गर्न सम्भव भएको बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।