कथासङ्ग्रह ‘बाआमा’को परिमार्जित तेस्रो संस्करण बजारमा आएको छ । ‘ऐना’का लागि मदन पुरस्कार विजेता रामलाल जोशीको ‘बाआमा’ प्रकाशनको छोटो समयमै तेस्रो संस्करण आएको हो ।

‘‘प्रकाशन भएको छोटो समयमै प्रिय पाठकहरुको अत्याधिक माया पाउन सफल ‘बाआमा’को परिमार्जित संस्करण बजारमा आएको छ ।’’, रामलाल जोशीले फेसबुकमा लेखेका छन्, ‘‘आशा छ, पढ्न बाँकी पाठकहरुबाट समेत उत्तिकै प्रेम पाउने छ ।’’

जोशीको दोस्रो कथासङ्ग्रह तथा समग्रमा चौथो कृति हो, बाआमा । विशेषत: बाआमा सृष्टिको कथा हो । कथाकार जोशीले सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पले कथाका रूपमा प्रस्तुत गरेका छन् । कथा बुनिएका मात्र छैनन्, एकअर्कामा उनिएका पनि छन् । कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको भान हुन्छ, तर प्रत्येक कथाहरू आफैंमा पूर्ण छन् ।

‘बाआमा’लाई बुक हिल पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।