कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देहीबाट लोकार्पण हुने भएको छ। साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उनी कवि तथा गीतकारका रूपमा बढी सक्रिय हुनुहुन्छ ।

प्रस्तुत सङ्ग्रह उहाँको दोस्रो कविता कृति हो भने केही गीतहरू रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरूबाट समेत प्रसारण भइरहेछन् ।

लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गर्नु भएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गर्नुभएका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत हुनुभएको छ । उहाँको यो कविता कृति अनुराग साहित्य समाज नेपाल रुपन्देहीबाट पुस ९ गते शनिबार लोकार्पण हुने भएको छ।