काठमाडौं / संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।
गजमेरका समकालीन पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजीत, प्रीति लगायतले पुस्तक विमोचन गरे ।
कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । १९६३ देखि गजमेरसँगको संगत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्रीलाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए । ‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए । ‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’
संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरूलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।
पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगो रुख मात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’
कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरू विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है, तिम्रो मनमा लुकेको कुरा, चिसोचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो I वाद्यवादनतर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिङ, जेपी जोशी, भवन गन्धर्ब, संजीव मैनाली थिए । गायनतर्फ क्रमश; बिपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसाइली र टीका प्रसाईं थिए ।
दार्जिलिङ, काठमाडौं र बम्बईमा लामो समय संगीत कर्म गरेका गजमेर यी तीनै थलोका स्वर्णयुगका द्रष्टा र स्रष्टा हुन् । दार्जिलिङ र काठमाडौंबीच रचनात्मक प्रतिस्पर्धाको समयमा उनी पहिले दार्जिलिङ र पछि काठमाडौंमा संगीत सिर्जनामा सक्रिय रहे ।
सन् ७० को प्रारम्भसँगै बम्बई पुगेका उनी आरडी बर्मन अर्केस्ट्राको स्थायी सदस्य बन्न पुगे । गजमेरले हिन्दी गीतमा वाद्यवादन सँगसँगै नेपाली गीतहरू संगीतबद्ध गरेका छन् ।
पुस्तकको भूमिकामा लेखक शेखर खरेल लेख्छन्, ‘रञ्जित गजमेरको आत्मकथा दुई खास कारणले विशिष्ट हुन सक्नेछ भन्ने मेरो बुझाइ छ । पहिलो, उहाँ यस्ता एकमात्र संगीतस्रष्टा हुनुहुन्छ, जसलाई दार्जिलिङ, काठमाडौं र बम्बई (बलिउड) का मूर्धन्य कवि एवं गीतकार, संगीतकार र गायकहरूसँग सहकार्यको सौभाग्य प्राप्त भयो। दोस्रो, उहाँले नेपाली मौलिक बाजा मादललाई यसरी विश्वसामु चिनाइदिनुभयो जसरी गोर्खा सैनिकहरूले खुकुरीलाई संसारभर चम्काइदिए ।’ गजमेरसँगका कुराकानी, तथ्यप्रमाण संकलन र सम्बद्ध व्यक्तिसँगको भेटसहित पुस्तक लेखनका क्रममा तीन वर्ष व्यतीत भएको खरेलले उल्लेख गरेका छन् ।
सानैदेखि बाजागाजामा रुचि भए पनि आफन्तको इन्कारका बीच लुकीलुकी संगीत सिक्नुपर्ने अवस्था अनि संयुक्त परिवारको विघटनलाई गजमेरले खुलस्त राखेका छन् । अभिभावक गुमाएपछि आफ्नी आमाले सानैबाटै हुर्काएकी कुसुमसँग कसरी बिहे भयो भन्ने प्रसंग पनि पाठकका लागि नौलो हुन सक्छ ।
नारायणगोपाल, बच्चु कैलाश, फत्तेमान, गोपाल योञ्जन, अम्बर गुरुङ, अगमसिंह गिरीजस्ता स्रष्टासँगको संगत र रोचक किस्सा समेटिएको पुस्तकमा फिल्म निर्माणका रमाइला प्रसंग पनि छन् ।
बलिउडका चर्चित गुलजार, किशोर कुमार, आनन्द बक्शीका आनीबानी र स्वभावसँग पनि गजमेरले परिचित गराइदिएका छन् । बलिउड संगीतमा ‘कान्छा’ नाम कसरी रहन गयो र आरडी बर्मनले कुन प्रसंगमा गजमेरलाई यो नाम दिए भन्ने कथा पनि रमाइलो छ । आशा भोसलेको सान्निध्यमा रहेका गजमेरले २०१९ डिसेम्बरमा काठमाडौंमा ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा प्रस्तुति दिएका थिए ।
दार्जिलिङबाट वीरगन्ज हुँदै काठमाडौं आएको प्रसंग, नेपाल एकेडेमी प्रवेश अनि रेडियो नेपालमा हुने गुटबन्दीलाई पनि गजमेरले आत्मकथामा समेटेका छन् । पत्नी कुसुम गजमेरको देहान्तसम्मका घटनालाई उनले पुस्तकमा अटाएका छन् ।
बलिउड संगीतमा पहाडी धुन र मादलको प्रयोगलाई प्रवेश गराएर नयाँपन दिएका गजमेरले नेपाली र हिन्दी कयौं गीतमा काम गरेका छन् । उनले संगीतबद्ध गरेका गीतको सूची र महत्वपूर्ण तस्बिरले पुस्तकलाई अझ खँदिलो बनाएको छ ।
पुस्तक बजारमा सर्वत्र उपलब्ध हुने प्रकाशक राजीवधर जोशीको भनाइ छ I
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।