पत्रकार तथा कविको परिचय बनाउनु भएका नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको नयाँ परिचयसमेत अब थपिएको छ । उहाँ “कञ्चनजङ्घाको काखबाट” नियात्रा संग्रहको विमोचनपछि नियात्राकारसमेत हुनुभएको छ ।

महासंघको वार्षिक साधारणसभाको अवसरमा उहाँको पुस्तक “कञ्चनजङ्घाको काखबाट” लाई एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले शुक्रबार पाँचथरको सदरमुकाम फिदिममा विमोचन गर्नुभयो ।

लेखक बाँस्कोटाले एक दशकको समयमा विभिन्न ठाउँमा स्थलगत अवलोकन गरेका अनुभवलाई समेटर तयार गरेको उक्त पुस्तकमा पर्यटकीय, धार्मिक स्थल, संस्कार, सभ्यता लगायत दुर्लभ र ओझेलमा परेका विविध विषय समेटी यो पुस्तक तयार पार्नुभएको हो ।

पुस्तक विमोचन गर्दै अतिथि आङ्बोले यस पुस्तकको अध्ययनबाट पूर्वी पहाडको पर्यटन क्षेत्रको विकासमा टेवा मिल्ने साथै हरेक भू-भागमा अवस्थित महत्त्वपूर्ण ठाउँका बारेमा बुझ्न सहज हुने बताउनुभयो ।

यसैबीच शाखाका पूर्वअध्यक्ष तथा सभापतिहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा शाखाका संस्थापक सभापति श्यामबिक्रम पराजुली,प्रेम ओझा,कृष्ण ओझा,पूर्वअध्यक्ष लवदेव ढुंगाना,लक्ष्मी गौतम र लेखनाथ खतिवडा रहनु भएको छ । संस्थालाई वर्तमान अवस्थासम्मको उचाईमा ल्याउन खेलेको भूमिकाको उच्च सम्मान गर्दै अग्रज पत्रकारहरूलाई सम्मान गरिएको जनाइएको छ ।

यस्तै, साधारणसभाको अवसरमा पुस्तकालयको उद्घाटन पनि गरिएको छ साथै इलाम पाँचथर र ताप्लेजुङका १३ जना पत्रकारलाई वातारण समाचार लेखनसम्बन्धी फेलोसिप हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी पाँचथरका अध्यक्ष रविन्द्र काफ्ले,प्रेस युनियनका अध्यक्ष जितेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश प्रतिनिधि तोयानाथ भट्टराई, प्रदेश उपाध्यक्ष लवदेव ढुंगाना, शाखाका पूर्व सभापति प्रेम ओेझा,फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले,जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेले लगायतले सुझाव,सल्लाह सहितको शुभकामना मन्तव्य राखेका थिए ।