फिदिम, पाँचथर, पुस १ / बहुविधाका लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ पाँचथरको फिदिममा एक विशेष कार्यक्रम गरी चर्चा गरिएको छ ।

नौली साहित्यिक विहान र कोर्काली अध्ययन केन्द्र पाँचथरद्वारा संयुक्त रूपमा आयोजित समीक्षा कार्यक्रममा प्रेरणाको किताबको चर्चा गरिएको हो ।

पाँचथर बहुमुखी क्याम्पस फिदिमका सहायक क्याम्पस प्रमुख प्राध्यापक लक्ष्मी ढुंगानाले ‘सुश्री पारिजात’ किताबको समीक्षा गर्नुभयो । उहाँले तेह्रवटा आयामबाट स्रष्टा पारिजातको व्यक्तिचित्रलाई गहन व्याख्या गरिएको प्राध्यापक ढुंगानाले बताउनुभयो ।

पुस्तकले रहस्यको गर्भमा रहेका पारिजातसँग सम्बन्धित विभिन्न नयाँ तथ्यहरूको पनि उजागर गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पारिजात जस्ता महान स्रष्टाको जीवनी समेटिएको ‘सुश्री पारिजात’ पुस्तक धेरै प्रेरणादायी रहेकाले यो पुस्तक अध्ययन गर्न सबैलाई अनुरोध गर्नुभयो ।

समारोहमा डा. अञ्जना वस्ती भट्टराई, पूर्व प्राज्ञ सदस्य रविमान लम्जेलले ‘सुश्री पारिजात’ पुस्तकले नेपाली साहित्यमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कवि राज दिलान्जलीले पुस्तकमाथि पाठकीय दृष्टि प्रस्तुत गर्दै “ सुश्री पारिजात” ले पारिजातको जीवनका आयामहरूलाई सूक्ष्म रूपमाप्रस्तुत गरेको बताउनु भयो ।

पुस्तकका लेखक प्रेरणाले आफूले पुस्तकमा पारिजातको जीवनका विविध पाटाहरूलाई प्रामाणिक तथ्यहरूको आधारमा प्रस्तुत गर्ने प्रयास गरेको बताउँदै १६ वर्षको अध्ययन अनुसन्धान र ४ वर्ष लेखन, पुनर्लेखन र प्रकाशनका लागि लागेको बताउनु भयो ।

कार्यक्रममा पुस्तक समीक्षासँगै लिम्बू भाषा साहित्यमा योगदान पुर्याउनु हुने पाँचथरका राजेन्द्र जवेगु, भवानी तावा र तिलविक्रम नेम्वाङलाई सम्मानसमेत गरियो । सो सम्मान पाँचथर फाल्गुनन्द इम्बुङस्थित सत्यहाङमा माध्यमिक विद्यालयमा पठन–पाठन भइरहेको प्लस टु लिम्बू भाषा शिक्षा पाठ्यक्रम निर्माणमा योगदान गरे बापत सम्मान गरिएको हो ।

कार्यक्रममा स्थानीय श्रष्टाहरु अनिशा तामाङ, पत्रिका अधिकारी, क्यार्लिंग लिम्बु, विक्रम पारखी, एलवी नेम्बांग, समीक्षा सापकोटा , दुखी महल, हेम सेमिग्वा चन्द्रकला अधिकारी, धनपति ढुंगेल, श्याम नयन मिमांसा, पवित्रा प्रयत्न, रविन कोर्काली लगायतले कविता, गजल आदि प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा विश्व साहित्य, विभिन्न साहित्यिक वाद, डायस्पोरा साहित्य लगायतका विषयमा गम्भिर छलफल समेत भएको थियो ।