सुष्मा दाहालको पहिलो पुस्तक, कविताकृति ‘मध्यान्तर’को विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा चर्चित कवि उषा शेरचनको प्रमुख आतिथ्यतामा अनामनगरस्थित निम्तो होटलमा पुस्तकको विमोचन गरिएको हो ।

कार्यक्रममा कवि उषा शेरचनले ३० को दशकको समयलाई स्मरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘हुन त साहित्यकारको लिङ्ग हुँदैन, तर लिङ्गले नै धेरै कुरालाई फरक पारेको हुन्छ । महिलाले साहित्य लेखनमा लाग्न तथा निरन्तरता दिन धेरै कुराको सामना गर्नुपर्छ । तीसको दशकमा पोखरालाई केन्द्र बनाएर साहित्यिक माहोलमा कुद्ने म एक्ली थिएँ । महिला भएकै कारण ममाथि समाजले धेरै प्रश्नहरु उठाउँथ्यो । समाजिक, पारिवारिकलगायत विविध कारणले साहित्य सिर्जनामा लागिरहनु सजिलो पक्कै छैन । तर, सुष्मा बहिनीले आँट गर्नुभएको छ, जुन सह्रानीय छ ।’’

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सञ्चालित कार्यक्रममा गीतकार शान्तिराम भट्टराई र अधिवक्ता कृष्ण घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कवि सुष्मा दाहालले ०५५ सालबाटैको किताब प्रकाशन गर्ने हुटहुटी विविध कारणले ०७९ सालमा आएर पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हरेक कुराको समय आउनु पर्दो रहेछ । यो मेरो पहिलो कवितासङ्ग्रह हो, सङ्ग्रहित कविताहरु कलिलै हुनसक्छन् । आगामी दिनमा तपाईंहरुको सल्लाह र सुझावले आफूले परिमार्जित गर्दै जाने नै छु ।’’

हेमप्रसाद मिश्रले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन साहित्यपोस्टका केन्द्रीय संयोजक कृष्ण ढुङ्गेलले गरेका थिए । रेजिना आपागाईं, मिञ्जु मिश्र, रसुवाली कवि, विरोध खतिवडालगायतले सङ्ग्रहभित्रबाट कविता वाचन गरि कार्यक्रमलाई कवितामय बनाउनुभएको थियो ।