बाबु साइँला

राष्ट्रिय जनसाहित्यिक संघ,नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह’आकाश मेरो पनि’ शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ।

उक्त समारोहका सभापति राम विनय हुनुहुन्थ्यो भने जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि भएको कार्यक्रममा डा. देवी नेपालले समीक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको संग्रह भित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्न पनि सामर्थ्य रहेको बताएका छन् साथै गजल पूर्णतः आशावादी रहेको भन्ने बताउनुभयो।

गजलतर्फ बढेका पाइला अब नमोढ्न पनि उहाँको आग्रह थियो ।

यस्तै विशिष्ट अतिथि स्नेह सायमिले साहित्यको सिमाना नहुने बताउँदै उहाँले नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको र लागिरहन उत्साहित गर्नुभयो।

अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति आकाश मेरो पनि विमोचनको कार्यक्रम काठमाडौँमा भएको हुँदा यसले स्रष्टाहरूलाई एकै मालामा गाँसेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ साथै जातीय विभेद हटाएर एकताबद्ध भएर रहने चेत भएका गजल छन् भन्नुभयो।

यस कार्यक्रमको उद्घोषण ज्ञानु विद्रोहीले गर्नुभएको थियो । कार्यक्रमको संयोजन भने दीपेन्द्र बनेपालीले गर्नुभएको थियो ।