मूर्धन्य हास्य व्यङ्ग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सम्मान ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान’ पहिलो पटक हास्य व्यङ्ग्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सो सम्मान २१ हजार नगद राशिसहित पाँडेलाई सम्मान गरिएको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानका संस्थापक, प्रमुख अतिथि गोतामे पत्नी पद्मा गौतमले सम्मानपत्र र नगद राशि प्रदान गर्नुभयो ।
कार्यक्रममा व्यंग्यकार पाँडेले श्याम गोतामेसँगको संगतबारे चर्चा गर्दै आफ्नो लेखनीका विषयमा समेत प्रकाश पार्नु भयो । पाँडेले गोतामे शुद्ध मनका तर खरो व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको भाषामा दह्रो पकड रहेको बताउनुभयो ।
साहित्यकार शैलेन्द्र साकारले व्यङ्ग्य शिल्पी गोतामेसँग आफ्नो सम्बन्धको चर्चा गर्दै पाँडेलाई सम्मान गरिनु संस्थाको सही छनोट रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, श्रीओम रोदन, देविका तिमिल्सिना र गोतामे पुत्री नीरा गौतमले आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।