इञ्जिनियर रामविन्दु श्रेष्ठको संस्मरण “मेरा सोभियत सम्झनाहरू” नामक कृति काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा गत साता विमोचन गरियो ।
सोभियत संघमा कुनै बेला अध्ययनका लागि पुग्नु भएका पूर्वमन्त्री नीलाम्बर आचार्यले पुस्तक विमोचन गर्नुभयो । उहाँले यो पुस्तक यात्रा मात्र नभई, नियात्रा मात्र नरही, यो सोभियत संघको सम्झना मात्र नरही, एउटा चिन्तन पनि रहेको बताउनुभयो ।
उहाँले पुस्तकले सोभियत संघको उतार चढावपछिको मनोविज्ञानबारे चर्चा गरेको र साहित्यमा अनुराग राख्नेका लागि मात्र नभई राजनीतिमा चासो राख्नेहरूका लागि पनि उपयोगी हुने बताउनुभयो।
“पुस्तकमा उहाँको मानवीय प्रेम, संवेदना झल्किएको छ। यो सोभियत संघले दिएको महत्त्वपूर्ण शिक्षा हो, त्यहाँको शिक्षा, संस्कार र अनुभवको देन हो जुन अमूल्य छ,” आचार्यले भन्नुभयो। उहाँले श्रेष्ठले सोभियत संघका राम्रा पक्ष मात्र नभई त्यहाँका कमी कमजोरी र सुधार गर्नुपर्ने पक्षबारे पनि लेखेकोमा प्रशंसा गर्नुभयो।
कार्यक्रममा आफ्नो भनाइ राख्दै पुस्तकका लेखक ई. रामविन्दु श्रेष्ठले पुस्तकमा तत्कालीन सोभियत संघमा इन्जिनियरिङ अध्ययनकालका बखतका अनुभव, अनुभुति, नियात्रा, सिकाइ र भोगाइका बारे लेखेको बताउनु भयो।
सोभियतहरूको देश अब छैन, त्यो इतिहासको गर्भमा विलीन भयो। बाँकी विश्वभन्दा पृथक् त्यो दुनियाँ अब रहेन। नब्बेपछिका पिँढीहरूमा त त्यो स्मरणमा पनि हुनेछैन। विलुप्त प्रायः भैसकेको सोभियत जीवन सम्झेर बारम्बार भैरहने नोस्टाल्जिया र अहिले विश्वमा चलिरहेको इतिहास तोडमरोड गर्ने हुरीले आफूलाई संस्मरण लेख्न प्रेरित गरेको उहाँले बताउनु भयो।
कार्यक्रममा पुस्तक बारे समीक्षा राख्दै नेपाल रुस साहित्य समाजका महासचिव इञ्जिनियर चन्द्रकान्त आचार्यले भन्नुभयो, “म सत्तरीको दशकको जल्दोबल्दो सोभियत संघमा पढेरआएको र सोभियत संघ ढल्ने बेलामा पढ्न गएका रामबिन्दुको बीच अनौठोसँग विचार मिलेका छन्। धेरै यात्राका प्रसङ्ग पनि अति रोचक नियात्रा शैलीमा लेखिएका छन्। त्यसैले यो कृति स्तरीय बनेको छ ।”
कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा.खेम कोइराला बन्धुले श्रेष्ठको पुस्तकमा लेखकले आफ्नो स्मृति इमान्दारीपूर्वक प्रस्तुत गरेको बताउनु भयो। पुस्तकमा संस्मरण, नियात्रा र कवितामार्फत तत्कालीन सोभियत संघका संस्कृति, इतिहास, भू्गोल, समाज र साहित्य लगायत विविध आयाम समेटिएको बताउनु भयो। उहाँले पुस्तकमा श्रेष्ठको साहित्यिक गुण र छवि झल्किएकोसमेत बताउनुभयो ।
यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नहेन्द्र प्रधानले पुस्तकमार्फत रुसका साहित्य र अनुभवबाट रुस नपुगेकाहरूले पनि त्यसबारे जान्न पाउने बताउनु भयो।
नेपाल रुस साहित्य समाजका अध्यक्ष प्रा.डा.जंगब चौहानले साथी रामविन्दुद्वारा लि खित यो पुस्तक उहाँको जीवनयात्राको अत्यन्त महत्वपूर्ण कालखण्डको दस्तावेज हो। यो उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण अवसर पनि हो भन्दै पुस्तक श्रेष्ठको साहित्यप्रतिको अनुरागका कारण पाठकको ध्यान अन्तिमसम्म केन्द्रित गर्ने खालको रहेको बताउनु भयो।
कार्यक्रम प्रभा बरालको सञ्चालन, इञ्जिनियर सुष्मा खत्री रन्जितको स्वागत मन्तव्य र प्राडा जंगब चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।
शब्दपथ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।