नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम र केदारेश्वर किशोरकिशोरी समूहको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल कविता प्रतियोगिता आयोजना गरी सम्पन्न भएको छ ।

कविता प्रतियोगिता दुई चरणमा गरिएको थियो । पहिलो चरणमा सहभागीहरूले ´वर्तमानमा जलवायु परिवर्तन र भविष्य´ शीर्षकमा कविताको भिडियो बनाई त्यसलाई नवसर्जकको पेजमा अपलोड गरिएको थियो ।

त्यसपछि दोस्रो चरणको प्रतियोगिता २३ गते जुममा सहभागीहरूले यसै शीर्षकमा रही अर्को कविता प्रस्तुत गरेका थिए ।

दोस्रो चरणको प्रतियोगितासँगै कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमको सभाध्यक्षता नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिमका संयोजक प्रविन चन्दले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टि.एन. जोशी रहनुभएको थियो ।

विशिस्ट अतिथिमा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय संरक्षक दीपक गौतम, निर्णायकद्वय गजलकार तारा पल्लवी, कवि भूपी सरोवर रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवसर्जकका केन्द्रीय संरक्षक दीपक गौतमले सहभागीहरूलाई निरन्तर साहित्यिक मार्गमा लाग्न र नवसर्जकको माध्यम प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै निर्णायक एवम कार्यक्रमका विशिष्ट अतिथि तारा पल्लवीले सबैको सिर्जनशीलताको कदर गर्दै यस्तो प्रतियोगिता आयोजना गरी बालबालिकाको प्रतिभालाई बाहिर ल्याएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

अर्का निर्णायक एवम विशिष्ट अतिथि भूपी सरोवरले यो प्रतियोगिताले छुट्टै ऊर्जा र चुनौती थपेको तथा साहित्यिक यात्रामा लाग्न शुभकामना दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशीले सहभागीहरूलाई शुभकामना दिँदै निरन्तर सिर्जनशील रहन र यसैगरी अगाडि बढ्न सके उज्ज्वल भविष्य हुने बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका २१ जना बालबालिकाको सहभागिता थियो भने सञ्चालन नवसर्जक साहित्य चौतारी नेपालका सुदूरपश्चिम सचिव एवं केदारेश्वर किशोरकिशोरी समूहका सहजकर्ता प्रकाश बडुले गर्नुभएको थियो ।

दुवै चरणको नतिजा २४ गते सार्वजनिक गरिएको थियो । प्रतियोगितामा प्रथम टिनु जोशी, द्वितीय सुनील बुढा तथा तृतीय मानुस्वी उपाध्याय हुनुभएको थियो । प्रथमलाई रु. २५००, द्वितीयलाई रु. २००० र तृतीयलाई रु. १५०० सहित प्रमाणपत्रको पुरस्कार रहेको थियो । सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र र नवसर्जक साहित्य चौतारी नेपालमा आबद्धतासँगै प्रशिक्षण अभियानमा जोडिने बताइएको छ।