यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार चीनमा रहेर नेपाली साहित्यलाई योगदान दिइरहनु भएका चेतनाथ आचार्यको उपन्यास रूइबालाई प्रदान गरिने भएको छ ।

ग‌ैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गरेको छ ।

गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका संयोजक हिक्मत थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार २०७८ साल भरि प्रकाशित भएका गैरआवासीय नेपाली लेखकका कृतिहरूमध्येबाट यो पुरस्कारका लागि रूइबालाई छनोट गरिएको हो ।

तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गर्नु भएको छ । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कृत कृति ‘रूइबा’ का लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

यसअघि समितिले पुरस्कारकालागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’ का अतिरिक्त नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक ‘ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) संलग्न थिए ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।