साहित्यपोस्टले हरेक साता मुक्तक प्रतियोगिता गर्ने भएको छ । विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरुको रहोबरमा मुक्तक प्रतियोगिता सुरु गरिएको प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनु भएको छ । हरेक साता तीन मुक्तककारका तीन–तीन मुक्तक छानेर वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरुको संगालो प्रकाशन गरिने जनाइएको छ । त्यसैगरि पुस्तकको डिजिटल कपि साहित्यपोस्टमा पढ्न र सुन्न समेत पाइने जनाइएको छ ।
‘साताभरि जम्मा हुन आएका मुक्तक मध्ये विज्ञ टोलीले उत्कृष्टताका आधारमा तीन मुक्तककारका तीन–तीन मुक्तक छनोट गर्नेछ ।’ साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसीले भन्नुभयो, ‘प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच हुनेछ । पाँचजनाको छनोट समितिले दिएको नम्बरको आधारमा उत्कृष्ट एक–एक व्यक्तिका तीन–तीन मुक्तकहरु चयन हुनेछन् ।’
मुक्तकका निर्णायकहरुमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनु भएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।
अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनु भएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचक मध्ये पर्नुहुन्छ ।
तेस्रो निर्णायकमा राजन सिलवाल रहनु भएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजनसिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरुमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनु भएको छ ।
वर्षका उत्कृष्ट मुक्तकका पुस्तक प्रकाशन हुने
यो प्रतिस्पर्धामा भाग लिन चाहने व्यक्तिले तोकिएको विषयमा यसै पेजको मुन्तिर आफ्ना तीन मुक्तक पोस्ट गर्नुपर्नेछ । हरेक साता विषय तोकिने र त्यसैको आधारमा प्राप्त हुने उत्कृष्ट मुक्तकलाई छानिने निर्णायकहरुले जनाएका छन् । ५० सातापछि फरक फरक विषयका सर्वोत्कृष्ट मुक्तकारका ४ सय ५० मुक्तकको पुस्तक निस्कनेछ । उत्कृष्ट मुक्तककारलाई पुस्तकसहित आकर्षक पारिश्रमिक पनि उपलब्ध गराइनेछ । त्यतिमात्र हाेइन, छानिएका उत्कृष्ट ५० मुक्तककारका मुक्तकहरू मध्ये पनि सर्वात्कृष्ट मुक्तकहरू छानिनेछन् ।
‘वर्षको अन्त्यमा एउटा कार्यक्रम गरेर सर्वाेत्कृष्ट मुक्तककारहरुलाई सार्वजनिक अभिनन्दनसहित पारिश्रमिक एवं पुस्तक उपहार दिइनेछ ।’ सम्पादक निशा केसीले साहित्यपोस्टसँग भन्नुभयो, ‘असाध्यै राम्रा मुक्तकहरु पनि फेसबुकमा हराएर गइरहेका छन् । यस्ता प्रतियोगिताले त्यो समस्या अन्त्य गर्ने र राम्रा रचनाले पुस्तकमा ठाउँ पाउनेछ ।’
पहिलो प्रतियोगिता यहि समाचारसँगै सुरु भएको छ ।
यो साताको तीनवटा विषय यस प्रकार रहेका छन् ।
पहिलो मुक्तकको विषय
सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति अथवा नेपालको नयाँ नक्सा
दोस्रो विषय
कोरोना, कोरोनाका कारण मृत्यु, कोरोनाका कारण संसारमा आएको परिवर्तन
तेस्रो विषय
आर्थिक शंकट, गरिबी वा मजदुरको दुःख
— सहभागीहरुले प्रत्येक विषयमा एक एकवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नविन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्र्रतियोगितामा सामेल गरिने छैन ।
— यसअघि प्रकाशन भैसकेका मुक्तकलाई पनि प्रतियोगितामा सामेल गरिने छैन तर फेसबुकमा राखिएका मुक्तक स्वीकार गरिने छन् ।
— तर अप्रतियोगी मुक्तकका हकमा भने चतुष्पदीयबाहेक माथिका कुनै पनि नियम लागू हुने छैन ।
यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भइ अर्को साताको बुधवार, असार १० गते रातको १२ बजेसम्म रहनेछ ।
पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्ः
पहिलो मुक्तको विषयः सीमा विवाद, लिम्पियाधुरा–कालापानी, देशभक्ति वा देशको नयाँ नक्सा
दोस्रो मुक्तकको विषयः कोरोना, महामारी, महामारीका कारण विश्वमा आएको परिवर्तन
तेस्रो मुक्तकको विषयः गरिबी, मदजुरको व्यथा, आर्थिक मन्दी वा आर्थिक अवस्था आदि ।
(तल कमेन्ट बक्समा असार १० गते बुधबार रातको १२ बजे अगाडि नै आफ्ना तीन वटा मुक्तक पोस्ट गर्नुहोस्)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।