लालबन्दी (सर्लाही), मङ्सिर १९ / भाषा आयोग नेपाल र लालबन्दी नगरपालिकाबीच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न भएको छ।

लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले शिक्षा, आम सञ्चारलगायतका क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने कुरा भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले बताउनुभयो।

स्थानीय सरकार स्थानीय जनताको नजिकको सरकार भएकाले आफूहरू यस विषयमा अत्यन्त गम्भीर रहेको र आवश्यक भाषिक नीति लिएर अघि बढ्ने छलफलका क्रममा लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले बताउनुभयो।

कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइटेलले नेपालको संविधान,२०७२ ले प्रदत्त गरेका अधिकारहरू नगरभित्र क्रियान्वयनका चरणमा लैजान जनशक्तिको अभाव रहेको अवगत गराउँदै थुप्रै चुनौतीहरू विद्यमान रहेका र त्यसलाई क्रमश: पार लगाउँदै जाने कुरा बताउनुभयो।

कार्यक्रममा भाषा आयोगका सचिव जयराम अधिकारीले नगरपालिकाले शिक्षा तथा आम सञ्चारका क्षेत्रमा नीतिगत ढङ्‌गले बहुभाषिक नीति लिएर अघि बढेमा प्राविधिकलगायतका क्षेत्रमा भाषा आयोगले भरपूर सहयोग गर्ने बताउनुभयो। भाषा संरक्षण, विकास र प्रवर्धनमा नगरपालिकालाई सहयोग गर्न भाषा आयोग सदैव तयार रहेको कुरा सचिव अधिकारीले बताउनुभयो।

लालबन्दी नगर वाङ्‌मय परिषद्, सर्लाहीको समन्‍वयमा सम्‍पन्‍न उक्त कार्यक्रममा भाषा आयोगका सदस्य माननीय गोपालप्रसाद सर्राफ (गोपाल अश्क), भाषा आयोगका सचिव जयराम अधिकारी तथा विक्रम राई हुनुहुन्थ्यो भने लालबन्दी नगरपालिकाका तर्फबाट लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, उप-प्रमुख कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, शिक्षा अधिकृत लक्ष्मी शिवाकोटी, अधिवक्ता विनु अधिकारी हुनुहुन्थ्यो। लालबन्दी नगर वाङ्‌मय परिषद्को समन्वयमा सम्‍पन्‍न उक्त कार्यक्रममा परिषद्का तर्फबाट अध्यक्ष अच्युत अधिकारी र सचिव सुमन घिमिरे अग्रिम हुनुहुन्थ्यो। कार्यक्रममा ईश्‍वरपुर नगरपालिकाका उपसचिव हरि दाहालको समेत उपस्थिति रहेको थियो।