नेपाल प्रज्ञा- प्रतिष्ठानले ‘प्रज्ञा नेपालभाषा- नेपाली- अंग्रेजी शब्दकोश’ प्रकाशनको तयारी गरेको छ । निर्माण समितिले प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादव र निमित्त सदस्य सचिव हेमनाथ पौडेललाई आइतबार उक्त कोशको पाण्डुलिपि बुझाएको हो ।

नेपालभाषा (नेवारी) शब्दकोश निर्माण संयोजक भाषाशास्त्री प्रा. तेजरत्न कंसाकार, कार्यकारी सम्पादक प्रा. ओमकारेश्वर श्रेष्ठ तथा सम्पादक सुरेशकिरण मानन्धर र रमेशकाजी स्थापित छन् । नेपाल भाषाको १० हजारभन्दा बढीमूल शब्द प्रविष्टि रहेको छ । त्यसलाई नेपाली र अंग्रेजीमा अनुवाद समेत रहेको छ । यसैगरी नेपाली-नेपालभाषा शब्दसूची, अंग्रेजी-नेपालभाषा शब्द सूचीसमेत समेटिएका छन् ।

यस शब्दकोशको निर्माणमा भाषावैज्ञानिक दृष्टिकोण नेपाल भाषामा प्रकाशित यो कोश महत्त्वपूर्ण रहेको जनाइएको छ । शब्दकोशमा सामग्री व्यवस्थापन र विश्लेषण गर्न एसआईएल इन्टरनेसनलद्वारा तयार पारिएको ‘टुलबक्स’ नामक सफ्टवेयरको प्रयोग गरिएको र यसले प्रयोगकर्तालाई सहज तुल्याउने बताइएको छ ।

मुलुकमा आएको राजनीतिक परिवर्तन, परिवेशसमेत समेटेर प्रकाशन गरिएको प्रतिष्ठानका भाषा (व्याकरण) विभागका प्रमुख समेत रहेका प्राज्ञ यादवले जानकारी दिएका छन् । ‘यो कोश छपाउने निर्णय भइसकेको छ र डिजाइनसमेत गरिएकाले तत्काल छपाइका लागि प्रेसमा जान्छ,’ उनले भने । प्रतिष्ठानले चार दशकअघि ‘नेवारी शब्दकोश’ प्रकाशित गरेको थियो ।

अक्षराङ्गबाट