काठमाडौं / अपाङ्गता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर २०२२ को उपलक्ष्यमा समाजमा विद्यमान अपाङ्गताप्रतिका नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको छ ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो । ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता’ पुरस्कारको निर्णय भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको छनोटका आधारमा गरिएको हो ।
मञ्जु सुवेदीलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’
अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई प्रदान गरिनेछ ।
दुर्गादेवी वाइबालाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’
‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई प्रदान गरिनेछ ।
अनिता भेटवाललाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ हिमालखबरमा कार्यरत पत्रकार अनिता भेटवाललाई प्रदान गरिनेछ ।
प्रमाणपत्रसहित ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’को रकम रु. २० हजार, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’को रकम रु. १० हजार र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’को रकम रु. १० हजार रहेको छ । यी सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।
यस अवसरमा अन्तर्दृष्टि पुरस्कार छनोट प्रक्रियामा सहभागी विद्यार्थी, सहयोग पु-याउने शिक्षक, विद्यालय प्रशासन तथा प्रश्नावली निर्माणसहित अनवरत खटिएका अन्तर्दृष्टि पुरस्कार समितिका सदस्य एवम् सर्वेक्षकप्रति अन्तर्दृष्टि पुरस्कार समिति आभार प्रकट गर्दै यो सहयोगको निरन्तरताको अपेक्षासमेत राखेको पुरस्कार समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तीन विधामा २०७८ सालको अन्तर्दृष्टि पुरस्कार वितरण
