Chovar Blues Mobile Size

काठमाडौं, मंसिर १४ / नेपाली साहित्यमा साढे चार दशकदेखि निरन्तर साहित्य सिर्जना तथा साहित्यिक गतिविधिमा सक्रिय साहित्यकार गोविन्द गिरी प्रेरणा रूक्मणीराज स्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ । आज काठमाडौंमा आयोजित विशेष समारोहका बीच सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश टोप बहादुर सिंहले उहाँलाई सम्मान गर्नुभयो ।

दिवंगत समाजसेवी रूक्मणीराज सिवाकोटीका नाममा यसै वर्षदेखि सो सम्मान प्रदान गर्न थालिएको हो । यो सम्मान पाउने उहाँ पहिलो साहित्यकार हुनुहुन्छ ।

विगत अढाई दशकदेखि नेपाली समाजका विभिन्न व्यक्तित्वहरूले आफ्नो क्षेत्रमा पुर्याएको विशेष योगदानको कदरस्वरूप जीवनकालमै तथा मरणोपरान्त विशेष अङ्क र ग्रन्थहरू प्रकाशन गर्दै आइरहेको ज्ञानगुन प्रकाशनले नेपाली पत्रकारिता क्षेत्रका अग्रणी पत्रकार ध्रुवहरि अधिकारीलाई समेत पत्रकारिता सम्मान प्रदान गरेको थियो ।

यसै अवसरमा सम्मानित प्रतिभाहरू अधिकारी र प्रेरणाको ज्ञानगुनका कुराका विशेष अङ्कहरूसमेत विमोचन गरिएको थियो । समारोहमा ज्ञानगुनका कुराको कमल दीक्षित स्मृति अङ्क, न्यायमूर्ति जोन मार्सल स्मृति अङ्क, ज्ञानमणि नेपाल अङ्क, विश्वनाथ उपाध्याय स्मृति अङ्क, टोपबहादुर सिंह अङ्क, समाजसेवी रूक्मणीराज सिवाकोटी स्मृति पुष्प लगायत थप १० पुस्तकहरूको समेत विमोचन गरिएको थियो ।

सो समारोहमा सम्मानित पत्रकार ध्रुवहरि अधिकारीका बारेमा शरतचन्द्र वस्तीले आफ्ना धारणा राख्नु भएको थियो भने सम्मानित साहित्यकार गोविन्दगिरी प्रेरणाको बारेमा रमेश शुभेच्छु तथा प्रमोद प्रधानले बोल्नु भएको थियो । साथै सम्मानित प्रतिभाहरूले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहको अध्यक्षता प्राध्यापक डा. माधवप्रसाद पोखरेलले गर्नु भएको थियो ।

कार्यक्रमको शुरूमा ज्ञानगुनका कुरा का प्रधान सम्पादक शेषराज सिवाकोटीले स्वागत मन्तव्य प्रस्तुत गर्दै सम्मानको विषयमा चर्चा गर्नुभएको थियो ।