Chovar Blues Mobile Size

अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो। नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो।

बिहानै सयौंको संख्यामा सहभागी नेपालीले सुरु गरेको प्रभातफेरीमा नेपालीमात्र नभई स्थानीयले समेत सहभागिता जनाएका थिए । उनीहरूले महोत्सव, नेपालबारेमा चासो र उत्साहसँगै ताली बजाएरसमेत स्वागत गरेका थिए ।

हरेक दुई वर्षमा प्रवासी नेपालीको संगठन एनआरएनएले गर्ने कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै नेपालीको पहिचान अझ सुदृढ र सबल बनाउन भूमिका खेलिरहेको आयोजकको भनाइ छ । आयोजक समितिका संयोजक दीपक बस्नेतले नेपाली दोस्रो पुस्ता बढिरहेका कारण कार्यक्रमले उनीहरूलाई आफ्नो कलासंस्कृति र परम्परालाई नजिकबाट चिन्न र बुझ्न यस्तो कार्यक्रमले सहयोग पुरयाउने सुनाए ।

अस्ट्रेलियामा विभिन्न समयमा महोत्सवहरू हुने भए पनि नेपाल महोत्सवको अलग महत्त्व र पहिचान रहेको आयोजकको दाबी छ । ‘एकातिर यो अस्ट्रेलियाको हरेक राज्यमा आयोजना गरिन्छ भने अर्कोतिर यसलाई सफल बनाउन नेपाली समुदायका साथै काउन्सिल, स्थानीय सरकार र अस्ट्रेलियाली नेताहरूको पनि साथ र सहयोग रहने गर्छ,’ एनआरएनएका डेपुटी युथ कोअर्डिनेटर उत्तम अधिकारीले भने ।

महोत्सव सफल बनाउन स्थानीय काउन्सिल र राज्य सरकारले समेत प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुर्‍याएको थियो । करिब एक महिनाअघिदेखि नै सहरका मुख्य भागमा काउन्सिलले प्रचारप्रसारका लागि बोर्ड राखिदिएको थियो भने गाडीहरूमा समेत प्रचार सामग्री राखिएको थियो । कार्यक्रमका सहभागीलाई मनोरञ्जन प्रदान गर्द स्थानीय सांगीतिक ब्यान्ड र कलाकारका साथै नेपालबाट आएका रिदम ब्यान्ड, दीपक बज्राचार्य र सन्दीप क्षत्रीले विभिन्न प्रस्तुति दिएका थिए ।