नेपाली साहित्यकी सर्वाधिक चर्चित लेखिका पारिजातको जीवनी पुस्तक “सुश्री पारिजात” यसै महिना बजारमा आउने भएको छ ।

यस कृतिका लेखक गोविन्द गिरी प्रेरणा हुन् जो विगत १८ वर्षदेखि अमेरिकालाई कर्मभूमि बनाए पनि निरन्तर लेखनमा प्रतिबध्द भएर लागिरहनु भएको छ ।

पारिजात मदन पुरस्कार पाउने प्रथम लेखिका हुनुहुन्छ । उहाँले “शिरिषको फूल” उपन्यासका लागि २०२२ सालमा प्रतिष्ठित मदन पुरस्कार पाउनु भएको थियो ।

नेपाली साहित्यको क्षेत्रमा कथा, कविता, निबन्ध, समालोचना, उपन्यास, नियात्रा लगायतका विविध विधामा २६ पुस्तक प्रकाशन गरिसक्नु भएका प्रेरणाको यो २७ औं कृति हो ।

साहित्यपोष्टसँगको कुराकानीमा साहित्यकार प्रेरणाले प्रस्तुत पुस्तक तयार गर्न करिब दुई दशक समय अध्ययन अनुसन्धानमा लागेको बताउनु भयो । जीवनी विधामा उहाँको यो पहिलो कृति हो ।

यस पुस्तकलाई निजी क्षेत्रको अग्रणी प्रकाशन फाइन प्रिन्टले प्रकाशनमा ल्याउन लागेको हो ।

स्मरणीय छ, साहित्यकार प्रेरणाले साहित्यपोष्ट प्रकाशनको थालनीदेखि नै नियमित रूपमा विविध विधामा रचनाहरू तथा स्तम्भ लेखन गरिरहनु भएको छ ।