‘आम निर्वाचन – २०७९’का नजिताहरु आउनेक्रम जारी छ । चुनावको घोषणासँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुले उमेद्वारी घोषणा गरेका थिएन । त्यसमा पनि, लेखक तथा कलाकारहरु अग्रपंक्तिमा थिए । नतिजा आउनेक्रम सुरु भएपछि केही नयाँ अनुहारहरुले सफलता प्राप्त गरिरहँदा केही चर्चित अनुहारहरुले भने सम्मानजनक मत ल्याउनसमेत सकेका छैनन् । यहाँ लेखन तथा कलकारिताबाट आएका त्यस्तै केही अनुहारको चर्चा गरिएको छ:

१. युग पाठक (दिपकुमार पाठक)

युग पाठक

युग पाठक स्थापित लेखक हुन् । गृह जिल्ला मकावनपुर भएका पाठकले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेद्वारी दिएका थिए । उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चुनौती दिन भन्दै झापा पुगेका थिए । ‘माङ्गेना: नेपाल मन्थन’, ‘उर्गेनको घोडा’ उनका चर्चित पुस्तक हुन् । उनी लामो समय पत्रकारितामा सक्रिय थिए । मकवानपुरबाट झापा पुगेका पाठकलाई स्थापित मिडियाहरुले राम्रै साथ दिएका थिए, तर मतदाताले भने साथ दिएको पाइएन ।

यो रिपोर्ट तयार पार्दासम्म युग पाठकले जम्मा २०५ मत पाएका छन् । यस क्षेत्रमा जित उन्मुख रहेका एमाले अध्यक्ष केपी ओलीले ३९ हजार ९७ र उनका निकटतम प्रतिद्वन्द्वि काङ्ग्रेसका खगेन्द्र अधिकारीले १९ हजार ३ सय ८५ मत पाएका छन् ।

 

२. मनोज पण्डित

मनोज पण्डित, निर्देशक

फिल्म निर्देशक मनोज पण्डितले काभ्रे – २ बाट एमाले नेता गोकुल बाँस्कोटाका विरुद्धमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका थिए । मनोजले ‘ग्रेटर नेपाल’, ‘दासढुङ्गा’, ‘बधशाला’जस्ता चर्चित फिल्म निर्माण गरेका छन् । पण्डितले बाँस्कोटाले ‘७० करोड खाइदिएकै हो’ भनेर व्यग्ङ्यात्मक अभिव्यक्ति अन्तर्वार्तामार्फत दिएपछि उमेद्वारी दिने घोषणा गरेका थिए । ‘लाचारीलाई स्वतन्त्रमा, समस्यालाई समाधानमा बदल्नुछ अब’लाई मनोजले चुनावी नारा बनाएका थिए ।

यो रिपोर्ट तयार पार्दासम्म मनोज पण्डितले जम्मा ३७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा काङ्ग्रेसका शिवप्रसाद हुमागाईं १३ हजार १ सय २० मतका साथ पहिलो स्थानमा रहेका छन् भने एमालेका गोकुलप्रसाद बाँस्कोटा १३ हजार २६ मतका साथमा दोस्रो स्थानमा रहेका छन् ।

 

३. हिमेश पन्त

कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ १ मा प्रतिनिधिसभा सदस्यका लागि उमेद्वारी दर्ता गएका थिए । ‘कमेडी च्याम्पियन सिजन १’का विजेता समेत रहेका पन्तले पछिल्लो समय उमेद्वारका रुपमा राम्रै चर्चा पाएका थिए, तर चुनावको नतिजालाई हेर्दा उनलाई मतदाताले प्रत्याएको देखिएन ।

हिमेश पन्त धादिङ–१ मा ५ हजार ३ सय ६७ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा १५ हजार १४ मतका साथ नेकपा (एस) का राजेन्द्रप्रसाद पाण्डे पहिलो स्थानमा छन् भने एमालेका भूमिप्रसाद त्रिपाटी १३ हजार ७ सय ४ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

 

४. रेखा थापा

हिम्मतवाली अभिनेत्री रेखा थापालाई नचिन्ने को नै होला ? रेखाले राप्रपाबाट प्रतिनिधिसभाका लागि मोरङ–३ मा उमेद्वारी दिएकी थिइन् । चुनावअघि आक्रमक प्रचारका साथै राम्रो चर्चा कमाएकी रेखालाई मतदाताले भने रुचाएको पाइएन ।

मोरङ–३ मा रेखा थापा तेस्रो स्थानमा रहँदै यो रिपोर्ट तयार पार्दासम्ममा २६ सय ९० मत प्राप्त गरेकी छिन् । यो क्षेत्रमा काङ्ग्रेसका सुनिलकुमार शर्मा १२ हजार ३ सय ३१ मतका साथ पहिलो स्थान छन् भने एमालेका भानुभक्त ढकाल ७ हजार ८ सय ४ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

 

५. मधुसुदन पाठक (सीते बा):

चर्चित टेलिसिरियल ‘सक्किगोनी’का कलाकार, ‘सीते बा’का नामबाट परिचित मधुसुदन पाठकले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेद्वारी दर्ता गराएका थिए । मेरो नेपाली पार्टी (लौरो अभियान) बाट उमेद्वारी दर्ता गराएका पाठकले आफ्नो उमेद्वारी भ्रष्टाचार विरुद्ध भएको बताउँदै आएका थियो । राम्रै चर्चा पाएका पाठकलाई मतदाताले भने पत्याएको देखिएन ।

काठमाडौं–५ मा मधुसुदन पाठकले जम्मा ३६४ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले १५ हजार २ सय ३७ मतका साथ जित हात पारेका छन् । पौडेलका निकटतम प्रतिद्वन्द्वि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १० हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।

 

६. सञ्जय श्रेष्ठ:

सफल गायक सञ्चय श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ६ बाट स्वतन्त्र उमेद्वारी दर्ता गराएका थिए । राप्रपाको राजनीतिमा रहेका श्रेष्ठले राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उमेद्वारी दिएका थिए । तर पार्टी छाडेर स्वतन्त्र उमेद्वारी दिँदासमेत उनलाई मतदाताले भने मत दिएको पाइएन ।

काठमाडौं–६ मा सञ्जय श्रेष्ठले यो रिपोर्ट तयार पार्दासम्म जम्मा २ सय ५१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा घण्टीवाहक उमेद्वार शिशिर खनाल ११ हजार ६ सय ३८ मतका साथ विजयउन्मुख छन् भने उनका निकटतम प्रतिद्वन्द्वि एमालेका सर्वेन्द्र खनालले ६ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् ।

 

(नोट: उमेद्वारहरुले प्राप्त मत (इ)कान्तिपुरबाट उल्लेख गरिएको हो ।)