आज हामी नेपालीहरू संसारका विभिन्न कुनामा पुगेका छौँ । सन १९९० को दशकभन्दा पहिला सामान्य नेपालीहरूलाई विदेश जानु भनेको परिकल्पना भन्दा बाहिरको कुरा थियो । केही विद्यार्थीहरू छात्रवृत्तिमा रूसमा पढ्न जाने गरेका थिए । कोही विद्यार्थीहरू साउथ एसियाकै विभिन्न मुलुकहरूमा पढ्न गएका थिए । नेपालबाट बाहिर गएकामध्ये बेलायती सेना र सिङ्गापुर पुलिसमा लाग्नेको संख्या नै पहिलो ठूलो संख्या हो । बेलायती सेनामा नेपालीहरूले काम गर्न थालेको भने धेरै लामो समय भयो । अंग्रेजले भारतमा शासन गर्न थालेपछि नेपालमा पनि गिद्दे दृष्टि लगायो र आक्रमण गर्यो । अंग्रेज फौजलाई अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरजस्ता योद्धाको नेतृत्वमा नेपाली फौजले परास्त गर्यो । त्यसताका नेपालीहरूलाई गोरखाली भनेर चिनिन्थ्यो । गोरखालीहरूको चौतर्फी प्रशंसा भयो । बेलायती महारानीदेखि जर्मनका चान्सलरहरूले समेत गोरखालीहरूको बहादुरीको गाथा मुक्तकण्ठले गाए । विभिन्न देशका सैन्य प्रमुखहरूले नेपालीको साहसको चर्चा गरे । यसरी विभिन्न युद्धमा समाहित हुँदै नेपालीहरू विभिन्न देशहरूमा पुगे । बेलायत, स्कटलेण्ड, फ्रान्स, जर्मनी, इटली, थाइलेण्ड, बर्मा, मलेसिया, सिंगापुर आदि देशहरूमा पुगे ।
ती बहादुर र साहसी नेपालीहरू युद्धका क्रममा बर्मा, मलेसिया, थाइल्याण्ड आदि देशहरूमा छोडिए । केही नेपालीहरू भारतका असम, मणिपुर हुँदै बर्मासम्म कामको खोजी गर्दै पुगे र बसोबास शुरू गरे । नेपालमा २०४६ सालको परिवर्तनपछि भने रोजगारी, अध्ययन र व्यापारका निम्ति नेपालीहरू संसारभर पुगेका छन् । अर्कातिर अंग्रेजले भारतमा शासन गरेका समयमा नेपालको पूर्वी सिमाना टिस्टासम्म थियो । त्यहाँका नेपालीहरूले नेपाली भाषालाई अत्यन्तै माया गरेर जोगाइराख्नु भएको छ । भाषा रह्यो भने मात्र आफ्नो संस्कृति रीतिरिवाज रहनसन र पहिचान रहन्छ । मानिसको पहिचान मेटाउने हो भने उसको भाषा मेटाउनु पर्छ । त्यसपछि क्रमशः पहिचान हराउँदै जान्छ । यही ठानेर दार्जेलिङ, खर्साङ, कालिम्पोङ, सिक्किम आदि ठाउँका नेपाली भाषामा पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले अनिवार्य बंगाली भाषा गराएर नेपालीभाषीमाथि प्रहार गरेको छ ।
हामी नेपालीहरू झलक्क हेर्दा कोही भारतीय, बंगलादेशी, पाकिस्तानी, चिनिया, जापानी, भियतनामी, अफगानिस्तानी, मेक्सिकन आदि जस्ता देखिन्छौँ । हाम्रो पहिचान भनेको भाषा हो, हाम्रा संस्कृति र सम्पदाहरू हुन् । हाम्रा रीतिरिवाजहरू हुन । संस्कारहरू हुन् । हामीले आफ्नो परिचयलाई जोगाइराख्न पनि हाम्रो भाषा जोगाई राख्नु पर्दछ । आफ्नो भाषाको महत्त्व तब मात्र थाहा, हुन्छ जब पराई भाषाभाषीहरूले आफूले बोल्ने भाषा आफ्नो संस्कृतिमाथि आक्रमण हुन थाल्छ । आफ्नो पहिचान संकटमा पर्न थाल्छ । फेरि एक पटक भाषा लोप भयो भने पुनः त्यो भाषा फर्कन सक्दैन । संसारमा धेरै जातजातिहरूका भाषा लोप भएर गएका छन् । उनीहरूको पहिचान हराएर गएको छ ।
यसैले त नेपालभन्दा बाहिर बस्ने नेपालीहरूले देवकोटा जयन्ती, भानुजयन्तीजस्ता स्रस्टाहरूका जन्मदिनलाई ठूलो चाडपर्वका रूपमा मनाउने गर्दछन् । संसारभर नै आफ्नो भाषा, संस्कृति र सम्पदा बचाउन लागी पर्दछन् ।
हामी प्रायः हरेक नेपालीहरू कुनै न कुनै रुपमा जन्म दिन मनाउँछौँ । अष्ट चिरिन्जिवीको पूजा गरेर मनाउने परम्पराबाट केक काटेर जन्म दिन मनाउने थालनी भएको छ । केक काटेर मैनबत्ती निभाउँदै आफूले सोचेको पूरा होस् भन्ने कामना गरिन्छ । अंग्रेजी भाषाको गीत गाएर ह्याप्पी बर्थ डे भन्दै शुभकामना दिन चलन व्यापक बन्दैछ । कमसेकम नेपाली भाषाबाट नै शुभकामना दिने प्रचन बढे, हाम्रो भाषा अतिक्रमित हुने थिएन । यसै सोचलाई आत्मसात गरी म सुरेन उप्रेतीले जन्मदिनको गीत लेखेँ । त्यस गीतलाई नारायण ओलीले संगीत भर्नु भयो । गायिका बानिका प्रधान र नारायण ओलीले स्वर भर्नु भयो । क्यानेभिजनका हरि सिवाकोटीको परिकल्पनामा कविता खरेल र साथीहरूले भूमिका निर्वाह गरेर म्युजिक भिडियो तयार भयो ।
सबै संसारभर छरिएर रहनु भएका नेपालीहरूले यो शुभकामना गीत बजाएर आफ्ना प्रिय मान्छेहरूलाई शुभकामना दिन हुन अपिल गर्दछु । यसले हाम्रो भाषा र संस्कृतिलाई बचाउन थोरै भए पनि मद्दत गर्नेछ भन्ने मेरो विश्वास रहेको छ । तपाई श्रद्देय पाठक तथा स्रोताहरूको न्यानो माया पाएमा गीत सबैतिर पुग्नेछ ।
यस गीतलाई सार्वजानिकीकरण गर्न अनेसासका वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले श्रष्टा संवाद कार्यक्रमको आयोजना गरिदिनु भयो । कार्यक्रमलाई साहित्यकार रेवतीराज अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
[embedyt] https://www.youtube.com/watch?v=01O8cXvCZw8[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।