स्थानीय तह व्यवस्थित हुँदै जाँदा तिनले आफ्नै स्वतन्त्र प्रज्ञा प्रतिष्ठान पनि स्थापना गर्दै जान थालेका छन् र प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधिलाई गति दिन थालेका छन् ।
पछिल्लो समयमा स्थापना भएको भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले कविता प्रतियोगिताको घोषणा गरेको छ । जसमा सम्पूर्ण कविहरूलाई सहभागिताका लागि अनुरोध गरेको छ ।
उपकुलपति इन्द्रप्रसाद रेग्मीद्वारा हस्ताक्षरित अनुरोधपत्र अनुसार प्रतिष्ठानको आयोजनामा कवि भूपि शेरचनको जन्म जयन्तीको अवसर पारेर आगामी २०७९ पुस १६ गते शनिबार बिहान ११.०० बजे भरतपुर महानगरपालिकाको सभाकक्षमा राष्ट्रब्यापी खुला कविता प्रतियोगिता गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने कविताहरू कविता नेपाली भाषा ( गद्य वा पद्य ) मा लेखिएको हुनुपर्ने, कविताको शब्द सीमा बढीमा १५० हुनुपर्ने, रचनामा कुनै वर्ग, लिङ्ग, जातजाति, धर्म, सम्प्रदायलाई नकारात्मक असर पर्ने खालको हुन नहुने, प्रतियोगितामा पठाइएको रचना यसअघि कुनै सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण भएको हुन नहुनेजस्ता नियम राखिएका छन् ।
रचना प्रज्ञाप्रतिष्ठानको सचिवालय वा इमेल pragyapratisthanbhr078@gmail.com मा आगामी २०७९ मङ्सिर मसान्तसम्ममा पठाइसक्नुपर्ने बताइएको छ । रचना पठाउँदा प्रतियोगी वा अप्रतियोगी खुलाई सर्जकको नाम, ठेगाना, टेलिफोन नं., इमेलसमेत उल्लेख गरी पठाउनु पर्नेछ भने प्राप्त रचनाहरूमध्ये निर्णायक समितिलाई उपयुक्त लागेका १० जना कविको रचना मात्र प्रतियोगितामा समावेश गरी वाचनका लागि अवसर प्रदान गरिनेछ ।
प्रतियोगितामा सर्वोकृष्ट हुनेलाई रू ४० हजार ७८, उत्कृष्ट हुनेलाई रू ३० हजार ७८, उत्तम हुनेलाई रू २० हजार ७८ र बढीमा २ जनालाई प्रोत्साहन पुरस्कारस्वरूप जनही रू १० हजार ७८ राशिसहित प्रमाणपत्रद्वारा सम्मान गरिने बताइएको छ ।
प्रतियोगितामा वाचनका लागि छनोट भएका जिल्ला बाहिरका कविहरूलाई बसबाट आवत-जावतबापत टिकट अनुसारको बस भाडा, आवास तथा खानाको व्यवस्था गरिने भएको छ ।
थप जानकारी तथा समन्वयको लागि कार्यक्रम संयोजक : प्रकाश चापागाई, मोबाइल नं. ९८५५०५९३१७ र सदस्य सचिव : बालकृष्ण थपलिया, मोबाइल नं. ९८४५०५११२७ मा सम्पर्कका लागि अनुरोध गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।